back
stc
prabhu insurance

भाइरसका कारण राहदानी सेवा प्रभावित

काठमाडौँ । भाइरसका कारण राहदानी सेवा प्रभावित भएको राहदानी विभागले जनाएको छ । आइतबार सूचना जारी गर्दै विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

भाइरसलाई थप फैलिन नदिन सेवा बन्द रहेको र पूर्ण रूपमा सेवा सुरु हुन १–२ सातासम्म लाग्न सक्ने सूचनामा उल्लेख छ ।

विभागका अनुसार भाइरसका कारण आवेदन प्रणाली अवरुद्ध भएपछि नेपालभित्र र बाहिर गरी दैनिक तीन हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका छन् । विभागमा दैनिक १५ सय तथा जिल्ला र बाहिर गरी १५ सयभन्दा बढीले राहदानीका लागि आवेदन दिन्छन् ।

भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र आवेदनको तथ्यांक पूर्ण सुरक्षित रहेको उल्लेख गर्दै विभागले धैर्य अपनाउन सेवाग्राहीलाई अनुरोध पनि गरेको छ ।

‘भाइरसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनुपर्ने भएकाले जिल्लारइलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नुपरेको छ,’ विभागको भनाइ छ, ‘उक्त स्थानहरूमा सेवा क्रमशः प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पूर्ण रूपमा कार्य प्रारम्भ हुन १–२ सातासम्म लाग्न सक्ने देखिएको छ ।’

फाराम भर्ने सेवाग्राहीहरूलाई विभागबाट सेवा सुरु गरिएको सूचनामा जनाइएको छ । ‘१–२ दिनभित्र नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ खुला गरिनेछ,’ विभागले उल्लेख गरेको छ ।

अत्यावश्यक पर्ने  सेवाग्राहीका  लागि  सेवा  उपलब्ध गराउन सुरु  भइसकेको पनि विभागले जनाएको छ । साथै, सेवाग्राहीलाई आ–आफ्नो जिल्लारइलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिनेसम्बन्धी अध्यावधिक जानकारी दिन पनि आग्रह गरेको छ ।

राहदानी सेवामा प्रभाव परेपछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई बोलाएर छिटोभन्दा छिटो पहिलेकै अवस्थामा सहज सेवा सञ्चालन गर्न निर्देशन दिएकी छन् ।