back
stc
prabhu insurance

नबिल बैंकले फोन लोन नतिरेपछि  ७४ जनाको नाम सार्वजनिक गर्‍यो 

काठमाडौं । बैंकहरूले पछिल्लो समय ‘फोन लोन’ कर्जा सेवा सुरू गरेका छन्। दुई लाख रूपैयाँसम्मको कर्जा बैंक नै नपुगी फोन मार्फत् लिन सकिन्छ।

केही वर्षअघिबाट अभ्यासमा आएको यसरी कर्जा लिने सुविधा पहिलो पटक नबिल बैंकले सुरू गरेको हो। बैंकहरूमा खाता रहेकाहरूलाई उनीहरूको प्रणालीले गर्ने विश्लेषणको आधारमा कर्जा लिन योग्य रहने नरहेको हेरेर कर्जा दिइने गरिन्छ।

कर्जा रकम ऋणीको बैंकमा रहेको निक्षेप खातामै जम्मा हुन्छ। कतिपय बैंकले धितो नलिई एक हजारदेखि दुई लाख रूपैयाँसम्म यस्तो कर्जा दिइरहेका छन्।

कर्जा लिएको एकै महिना वा एक वर्षमा तिर्न सक्ने गरेर यसको किस्ता तयार गरिएको हुन्छ। किस्ताबन्दीमा दिइने कर्जा बैंक अनुसार १५ हजारदेखि दुई लाखसम्म रहने गरेको पाइन्छ।

यस्तै प्रक्रियाबाट नबिल बैंकबाट कर्जा लिएका ७४ जनाले कर्जा नतिरेको भन्दै नाम सार्वजनिक गरेको छ। बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कर्जा तिर्न सम्पर्कमा आउन ऋणीलाई जानकारी गराएको छ। सम्पर्कमा नआए ऋणीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

ऋण नतिर्ने ऋणीलाई पनि कालो सूचीमा राख्न सकिने व्यवस्था छ। यस्तो सूचीमा परेकाहरूले सूचीबाट नबाहिरीदासम्म बैंकिङ कारोबार गर्न समस्या हुन्छ।