back
stc
prabhu insurance

नेप्से सूचक झण्डै ७० अंकले ओरालो लागे

काठमाडौं । पछिल्लो ३ कारोबार दिनमा नेप्से सूचक झण्डै ७० अंकले ओरालो लागेको छ । त्यसअघि लगातार ९ दिन बजार बढ्दा नेप्से सूचक २११ अंक उक्लिएको थियो ।

छोटो समयमा बजारबाट नाफा सुरक्षित गर्ने अल्पकालिन लगानीकर्ताहरु नै हाबी भएपछि नेप्सेको गिरावटले  निरन्तरता  पाएको हो ।  यद्यपी  दैनिक कारोबार  रकम भने ११ अर्बकै  हाराहारीमा रहेको छ ।

बुधबार नेप्से सूचक २५.१६ विन्दुले घटेर २८२१.१३ अंकमा आएको छ । मंगलबार नेप्से ३०.३६ अंक तथा सोमबार १३.६२ अंकले घटेको थियो । पछिल्लो ३ कारोबार दिनमा नेप्से सूचक झण्डै ७० अंकले घटेको छ ।

बुधबार बजार घटेपनि १० अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यसदिन ट्रेडिङ बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

बुधबारको कारोबारमा नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन करिब १३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६।८४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९६ करोड ७० लाख ९५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ९० करोडको शेयर किनबेच भएको छ भने सगरमाथा जलविद्युत कम्पनीको करिब ३१ करोडको शेयर कारोबार भएको छ।