back
stc
prabhu insurance

नेपाल राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक

काठमाडौं । पाँच वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छने । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नियामकीय व्यवस्था तथा निर्देशन उलंघन गर्ने पाँच वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

केन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६७ रुपैयाँ नगद जरिवाना गरेको हो । बैंकले कृषि, उर्जा र लघु एवं साना ताथ मझौला व्यवसायमा तोकिएको अनुपातमा कर्जा लगानी नगरेपछि नगद जरिवानासहितको कारबाही गरेको हो ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य र कृषि विकास बैंक पनि कारबाहीमा परेका छन् । राष्ट्रिय वाणिज्य बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा कर्जाको वर्गीकरण नगरेको, सोही अनुसार कर्जा नोक्सानी व्यवस्था र जोखिम भार समेत गणना नगरेको पाइएपछि बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

केन्द्रीय बैंकले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसकेपछि सचेत गराएको छ । साथै बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीलाई आफ्नो पद र नामको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको पाइएपछि ५ लाख रुपैयाँ जरिवाना गरेको छ ।

यस्तै कुमारी बैंकको प्रमुख कार्यकारीले सुक्षम निगरानी तथा निष्कृय कर्जालाई वर्गीकरण नगरेको साथै न्यूनतम कर्जा नोक्सानी व्यवस्था समेत नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ । लक्ष्मी सन्‌राईज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रीय बैंकको निर्देशन पालन नगरेको भन्दै नसिहत दिइएको छ ।

बैंकले राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन तथा बैंकको कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरुको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको पाइएको छ ।

यसैगरी मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यवसायिक संस्थाहरुलाई समेत बेलुनिङ किस्ता कायम गरी कर्जा अवधिको शुरुका वर्षहरुमा अत्याधिक न्यूनतम तथा अन्तिम वर्षहरुमा अधिकतम साँवा असुल हुने गरी कर्जाको किस्ता कायम गरेको राष्ट्र बैंकको ठहर छ ।

नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरु सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरेको तथा चालु पुँजी कर्जाका लागि ब्रिज ग्याप कर्जा प्रदान गरी लामो समयपश्चात यस्तो कर्जालाई आवधिक कर्जामा परिणत गर्नाले कर्जा जोखिम व्यवस्थापनमा व्यवस्थापन गम्भिर नरहेको नपाइएकोले केन्द्रीय बैंकले कारबाही गरेको हो।

यता बैंकले संस्थापक सेयरधनीका लागि ऋण लिने सन्दर्भमा सेयर धितो राख्नु पूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा लक्ष्मी सनराइजको २ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने एक संस्थापक सेयरधनीले धारण गरेको बैंकको संस्थापक सेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट कर्जा लिँदा राष्ट्र बैंकको स्वीकृति नलिई संस्थापक सेयर धितोबन्धक राखेको तथा कर्जा उपयोग गरेको अभिलेख बैंकले नराखेको कारण कारबाही गरिएको छ ।