back
stc
prabhu insurance

राष्ट्र बैंकले तोक्यो विदेशमा लगानी गर्न चाहने आइटी उद्योगका लागि विदेशी मुद्राको सीमा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न चाहने सूचना प्रविधि (आइटी) उद्योगका लागि विदेशी मुद्राको सीमा तोकेको छ । केन्द्रीय बैंकले विदेशमा लगानी गर्ने कम्पनीले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ चौथो पटक संशोधन गरी आइटी कम्पनीलाई विदेशमा लगानी गर्ने सीमा तोकेको हो । सरकारले गत माघमा अध्यादेश मार्फत कानुन संशोधन गरेर नेपाली कम्पनीले विदेशमा पनि शाखा कार्यालय खोल्न पाउने र सिधै विदेशी कम्पनीमा सेयर लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

त्यसका लागि सरकाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, कम्पनी ऐन २०६३ र विदेशी विनिमय ऐन २०१९ लाई अध्यादेश मार्फत संशोधन गरेको थियो । सोही संशोधित व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय बैंकले विनियमावली संशोधन गरेको हो ।

केन्द्रीय बैंकले विनियमावलीमा परिच्छेद ५ ‘क’ थप गर्दै विदेशमा लगानीको नियमन सम्बन्धी व्यवस्था गरेको छ । विदेशमा लगानी गर्न पाउने गरी छुट प्राप्त उद्योगले विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्रा सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने विनियवलीमा उल्लेख छ ।