back
stc
prabhu insurance

हिमालयन एभरेष्टकी सीइओ अञ्जु श्रेष्ठ ‘वुमन्स टेब्लोयड अवार्ड’ बाट सम्मानित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) अञ्जु श्रेष्ठ वुमन्स टेब्लोयड अवार्ड २०२५ बाट सम्मानित भएकी छिन्। आयोजकले उनलाई ‘वेष्ट वुमन सिइओ इन स्ट्राटेजिक लिडर शिप’ विधा अन्तर्गत सम्मान गरेको हो।

वुमन्स टेब्लोयडले विविध क्षेत्रका महिला नेतृलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्दै आएको छ। एशिया र अफ्रिकी मुलुकका बैंकिङ, बीमा, पर्यटन, आतिथ्यता, प्रविधि, स्वास्थ्यसेवा, खुद्रा बिक्री क्षेत्रमा सकृय महिला नेतृहरूको सम्मानमा वार्षिकरूपमा विभिन्न विधामा सम्मान गर्छ।

वुमन्स टेबलोयड अवार्ड्सका अनुसार, महिला सिइओ,उत्कृष्ट महिला उद्यमी, सिर्जनशील महिला, सामाजिक प्रभाव सम्मान र संस्थागत नेतृत्वमा महिला विधामा उपाधी वितरण गरिन्छ।

बेलायतको लण्डनमा मुख्यालय रहेको वुमन्स टेबलोयड पब्लिकेशन लिमिटेड यो अवार्डको आयोजक संस्था हो । यसको सम्पर्क कार्यालय भारतको बेंगलोरमा समेत छ। यो प्रकाशन गृहले व्यवसायीक क्षेत्रको महिला नेतृको सम्बन्धमा समाचार, अन्तरवार्ता लगायतका सामाग्री सहितको म्याग्जिन र डिजिटल पत्रिका प्रकाशन गर्दै आएको छ।

आयोजक संस्थाका अनुसार, सम्मानका लागि चयन गरिएकाहरूलाई आगामी डिसेम्बर महिनामा दुबईमा हुने समारोहमा उपाधी प्रदान गरिनेछ।

श्रेष्ठ पछिल्लो तीन दशकदेखि निरन्तररूपमा बीमा क्षेत्रमा सकृय छिन्। उनले गत भदौ ३० गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी हुन्।

शंकर देव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेकी श्रेष्ठ सहायक अधिकृत तहबाट साबिक हिमालयन इन्स्योरेन्सबाट जागिरे यात्रा शुरू गरेकी हुन् ।