back
stc
prabhu insurance

आजदेखि बुंगल हाइड्रोले आइपीओ निष्काशन गर्ने

काठमाडौं । बुंगल हाइड्रोले पहिलो चरणको आइपीओ भोलि असार २९ गतेदेखि जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ ल्याउन लागेको हो।

धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ५ हजार कित्ता शेयर जारी गर्ने अनुमति पाएको हो।

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ८ लाख ३० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि बिक्री खुला गर्नेछ।

यो आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अतिप्रभावित क्षेत्र सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १) का बासिन्दाका लागि छुट्याइएको छ।

बाँकी ३५ प्रतिशत कित्ता शेयरमा सामान्य प्रभावित क्षेत्र बुंगल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्।

यसैगरी कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ७ हजार ५०० कित्ता शेयर विदेशमा रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ।

दुवै समूहका लगानीकर्ताले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

स्थानीयले केदारस्यु–१स्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा, बुंगलस्थित कृषि विकास बैंकको शाखा, जयपृथ्वी नगरपालिकास्थित ग्लोबल आइएमई बैंकको शाखा र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

स्थानीयबाट भने पर्याप्त आवेदन नपरेको खण्डमा भने आइपीओ निष्कासन अवधि साउन २६ गतेसम्म लम्बिन सक्छ। बुंगल हाइड्रोको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।