भाटभटेनीसहित ६ कम्पनीलाई वाणिज्य विभागको कारवाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपर मार्केटसहित ६ वटा कम्पनीलाई कारबाही गरेको छ । काठमाडौं महानगरपालिका–०५ स्थित भाटभटेनी एण्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई मंगलबार विभागको टोलीले अनुगमनको क्रममा ३ दिनभित्र व्यवसायसंग सम्बन्धित आवश्यक कागजात लिएर विभागमा आउन निर्देशन दिएको हो ।
मंगलबार अनुगमनमा रहेको टोलीले ११ वटा उद्योग तथा फर्महरुको अनुगमन गर्दा ३ वटालाई जरिवाना गरेको छ । अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–९६ मा रहेको न्यू वानियाँ भाँडा पसललाई ५५ हजार रुपियाँ जरिवाना गरेको छ ।
यस्तै, काठमाडौं महानगरपालिका–१४ को चक्रवर्ती फर्निचर एण्ड इन्टेरियर प्रालिलाई ५१ हजार र काठमाडौं महानगरपालिका–१३ को रन स्टिल फर्निचर प्रालिलाई ११ हजार जरिवाना गरेको छ ।
यसैगरी आदर्श विजनेश प्रा.लि, काठमाडौं महानगरपालिका–१५ लाई व्यवसायसँग सम्बन्धित कागजात सहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने सक्षम ट्रेडिङ कन्सर्न, काठमाडौं महानगरपालिका–१६ लाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन भनिएको छ । अन्य पाँच उद्योग तथा फर्मलाई भने सामान्य निर्देशन दिएको विभागले जनाएको छ ।
वि.सं.२०८२ साउन २८ ०४:५१




















