भुटानी टुर अपरेटरको संस्था अब्टोसँग नाट्टाको सम्झौता
काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) र एशोसिएशन अफ भुटानीज टुर अपरेटर्स (अब्टो) बीच पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यले सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
दिगो पर्यटन प्रवर्द्धन गर्ने साझा दृष्टिकोणसहित पर्यटन विकासमा सहकार्यलाई संस्थागत गर्ने आधार निर्माण गर्ने उद्देश्यसहित नाट्टाका अध्यक्ष कुमार मणि थपलिया र अब्टोका अध्यक्ष किन्ले ग्याल्त्सेनले भूटानको पारोस्थित डुङ्कर दोजोङमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
दुवै संस्थाले आपसी जानकारी आदान–प्रदान, विचार र सीपको साझेदारी गर्दै यात्रा व्यापार उद्योगलाई सुदृढ पार्ने र नेपाल, भूटान साथै दक्षिण एशियाली क्षेत्रमा दिगो पर्यटन प्रवद्र्धन गर्ने विषयमा सहमत भएका छन्।
यसअन्तर्गत तालिम कार्यक्रम, सेमिनार, कार्यशाला र प्रचार–प्रसार गतिविधिहरू सञ्चालन गर्ने, साथै दुवै देशमा संयुक्त कार्यक्रम आयोजना गर्ने सम्भावनाहरू खोजी गर्ने प्रतिबद्धता गरिएको छ ।
सहकार्यले दुवै संस्थाका पर्यटन क्षेत्रमा निरन्तर योगदानलाई सम्मान गर्दै दिगो अर्थतन्त्र निर्माणका लागि सहकार्यको आवश्यकता औंल्याएको छ ।
पुनर्जननशील पर्यटन अभ्यासलाई अंगीकार गर्दै यस साझेदारीले सांस्कृतिक संरक्षण, वातावरणीय दायित्व र सामुदायिक सहभागिता प्राथमिकता दिनेछ, जसले पर्यटनलाई सकारात्मक परिवर्तनको शक्तिमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ ।
सहमति पत्र दुई वर्षका लागि लागू हुनेछ र आवश्यकता अनुसार नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
वि.सं.२०८२ भदौ ६ १६:२९




















