back
prabhu insurance
himalayanlife

धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइको तयारी थालिएको छ । अस्पतालमा पढाइका लागि छुट्टै प्रयोगशाला बनाइने छ ।
गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा चालु आर्थिक वर्षबाट नर्सिङ पढाई गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो । चालु आर्थिक वर्षमा नर्सिङ पढाइका लागि आवश्यक प्रयोगशाला सहितको पूर्वाधार निर्माण गर्नका लागि रु ७० लाख बजेट विनियोजन भएको गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस वर्ष नर्सिङको भर्ना प्रक्रिया सकिएकाले पूर्वाधार तयार गरेर आगामी वर्ष विद्यार्थी भर्ना गर्ने तयारीका लागि बजेट पठाइएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो । कक्षाकोठा र प्रयोशालालगायतको व्यवस्थापन भने चालु आर्थिक वर्षमै सकिने उहाँका भनाइ छ ।
प्रदेश मातहतका अस्पताल तथा वर्थिङ सेन्टरमा तालिम प्राप्त मिडवाइफ मार्फत सेवा प्रवाहको सुनिश्चतताका लागि आगामी आर्थिक वर्षदेखि प्रविणता प्रमाणपत्र तहको ‘मिडवाईफरी शैक्षिक कार्यक्रम’ धौलागिरि अस्पतालमा अध्यापन सुरु गरिने धौलागिरि अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा किरण तिवारीले जानकारी दिनुभयो ।
“यो एसइईपछि पढ्न पाइने तीन वर्षे नर्सिङ कोर्ष हो, यसमा गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी मात्रै अध्ययन हुन्छ”, उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमै भर्ना अघि बढाउने भनिएपनि जेनजी आन्दोलन लगायतका कारण समस्या भएको थियो, यो वर्ष पूर्वाधार तयारी गर्छौँ, अर्को वर्ष भर्ना खोल्निछ ।”
नर्सिङ विषय अध्यापनका लागि १०० शैय्याको अस्पताल र वार्षिक एक हजार २०० सुत्केरी अस्पतालमा हुनुपर्ने मापदण्ड पुगेकाले नर्सिङको पढाइको तयारी थालिएको हो ।
स्वास्थ्यमन्त्री पाठकले बागलुङका तीन अस्पतालको स्तरोन्नति एकसाथ भएको बतानुभयो । धौलागिरि अस्पताल १०० शैय्याको नहुँदा नर्सिङ पढाउन समस्या भएकाले स्तरोन्नतिपछि नर्सिङ पढाइको बाटो गत वर्षदेखि खुलेको थियो ।
पचास शैय्याको धौलागिरि प्रादेशिक अस्पताललाई प्रदेश मातहतको १०० शैय्या, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको बुर्तिबाङ प्रदेश अस्पताल, धौलागिरी आयुर्वेद अस्पताल बागलुङलाई २५ शैय्याको अस्पतालमा स्तरोन्नति गरिएको मन्त्री पाठकले बताउनुभयो ।