back
prabhu insurance
himalayanlife

माघ १ गतेदेखि विद्युतीय प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाउन बिमा प्राधिकरणको निर्देशन

काठमाडौँ । आगामी माघ १ गतेदेखि नेपाल बिमा प्राधिकरणले सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणले जीवन बिमा, निर्जीवन बिमा, लघुबिमा, पुनबिमा कम्पनी र बिमा दलाललाई सबै प्रकारका भुक्तानी सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ मा बिमकले बिमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बिमालेखका सर्त वा प्रचलित कानुन बमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणाली मार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो ।

यसअघि, प्राधिकरणले बिमा कम्पनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकलाई दिइने पारिश्रमिक वा ज्यालाबापतको भुक्तानी अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत गर्न बिमा कम्पनीलाई निर्देशन दिएको थियो ।