आजेदेखि कालंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानी र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ खुला गरेको हो ।
कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको छ । यसमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
स्थानीयका लागि छुट्याइएकोमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्र बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिकाको वडा नं. ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ।
बाँकी ४ लाख ९० हजार कित्ता बझाङ्ग, जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाहरूका स्थायी बासिन्दाका लागि छुट्याइएको छ ।
यसैगरी सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिनेछ । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा चैत २४ गतेसम्म रहनेछ । सबै सेयर बिक्री नभएमा ढिलोमा वैशाख ९ गतेसम्म आवेदन खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा चैत १५ गतेसम्म र ढिलोमा चैत २४ गतेसम्म कायम रहनेछ ।
वि.सं.२०८२ चैत १० ०७:५७




















