एसइईको नतिजा वैशाख अन्तिम साता
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख अन्तिम साता प्रकाशन गर्ने भएको छ । विगतमा परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यस पटक भने एक महिनाभित्रमै नतिजा सार्वजनिक गर्न लागेको हो ।
बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार एसइईको उत्तरपुस्तिका परीक्षण सकेर परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ ।
अहिलेकै गति अनुसार काम भयो भने तेस्रो साताको अन्तिमतिरै नतिजा प्रकाशन गर्ने योजना रहेको पनि बोर्डले जनाएको छ । यो काम पनि एक दुई दिनमा सकिने छ । प्राप्ताङ्क प्रविष्ट गरेपछि एक चरण रुजु गरिने छ ।
रुजु गर्दा पनि कुनै प्राविधिक समस्या देखिएन भने नतिजा प्रकाशनको प्रक्रियामा जाने छ । एसइई गत चैत २९ गते सकिएको थियो ।
बोर्डका सदस्यसचिव अर्यालले भन्नुभयो, “परीक्षा सकिएको मितिले एक महिनाभित्रमा नतिजा प्रकाशन गर्ने हाम्रो लक्ष्य हो । त्यस हिसाबले भन्ने हो भने वैशाख २९ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी काम गरिरहेका छौँ ।” अहिलेसम्मको कार्यप्रगति हेर्दा लक्ष्य अनुसार नै काम हुने अर्यालले बताउनुभयो ।
नयाँ सरकार गठन भएपछि सुरु भएको एसइईको नतिजा सुरुमा त १५ दिनभित्रमै सार्वजनिक गर्ने विषयमा पनि छलफल भएको थियो तर निकै नै हतार गर्दा समस्या आउन सक्ने देखिएकाले बढीमा एक महिनाभित्रमा सार्वजनिक गर्ने विषयमा मन्त्रालय र बोर्डका अधिकारीबिच छलफल भएको थियो ।
नतिजा प्रकाशनलाई छरितो बनाउन यस पटक एसइईको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने उत्तरपुस्तिका परीक्षण गर्न जनशक्ति पनि धेरै खटाइएको थियो ।
एसइई चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा मुलुकभरबाट पाँच लाख १२ हजार ४२१ जना सहभागी भएका थिए । जसमध्ये दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र छन् ।
परीक्षाका लागि एक हजार ९६६ केन्द्र तोकिएको थियो । परीक्षामा नेपाली भाषाको पढाइ भइरहेको जापानको विद्यालयका लागि एउटा केन्द्र तोकिएको थियो । त्यहाँबाट २३ जना परीक्षार्थी सहभागी छन् ।
वि.सं.२०८३ वैशाख १३ ०६:०३


















