back
prabhu insurance
himalayanlife

आजदेख ५०० का नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सिरिजका ५०० रुपैयाँ दरका बैंक नोट चलनचल्तीमा ल्याएको छ। बैंकले बुधबार सूचना जारी गर्दै नयाँ नोट असार ३ गतेदेखि प्रचलनमा आएको जनाएको हो।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ हाल प्रचलनमा रहेका ५०० रुपैयाँका नोटसरह नै रहनेछ। नोटमा विभिन्न सुरक्षा विशेषतासहित नयाँ डिजाइन समावेश गरिएको छ।

नोटको अगाडिको भागमा सगरमाथाको चित्र, लालिगुराँसको वाटरमार्क तथा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोटको दर पहिचान गर्न सक्ने विशेष चिन्ह राखिएको छ। साथै, नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ।

नोटको पछाडिको भागमा पाटेबाघको चित्र उल्लेख गरिएको छ। राष्ट्र बैंकले यसअघि जारी गरिएका ५०० रुपैयाँका नोटहरू पनि यथावत् कानुनी मुद्राका रूपमा चलनचल्तीमा रहने जनाएको छ। बैंकले मुद्रा राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षण र सदुपयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।