बैङ्किङ पहुँच विस्तार हुँदै जाँदा ग्राहकको सङ्ख्या बढेको छ तर शाखा विस्तार भने घट्दो क्रममा
काठमाडौँ । बैङ्किङ पहुँच विस्तार हुँदै जाँदा ग्राहकको सङ्ख्या बढेको छ तर शाखा विस्तार भने घट्दो क्रममा गएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार निक्षेप र कर्जा खाता दुवै बढे पनि देशभर बैङ्क तथा वित्तीय संस्थाका शाखा सङ्ख्या पछिल्ला वर्षमा निरन्तर खुम्चिँदै गएका छन् ।
बैङ्क तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या २०८२ वैशाख मसान्तमा ११ हजार ५२६ रहेकोमा २०८३ वैशाख मसान्तमा ११ हजार ३५९ मा झरेको छ ।
२०८१ असार मसान्तमा ११ हजार ५३० थियो । देशभर बैङ्क तथा वित्तीय संस्थामा कर्जा खाता २० लाखभन्दा माथि लागेको छ भने निक्षेप खाताको सङ्ख्या छ करोड २७ लाखभन्दा बढी पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनासम्म कर्जा खाता २० लाख ३७ हजार ४३५ पुगेको छ भने निक्षेप खाताको सङ्ख्या छ करोड २७ लाख २३ हजार ७७ पुगेको हो ।
वि.सं.२०८३ असार १४ ०७:२१




















