back
prabhu insurance
himalayanlife

बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा.योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन्। सरकारले सिंहलाई अध्यक्ष चयन गरेको मन्त्रालय निकट स्रोतले जनाएको छ।

डा सिंहले नियुक्त भएको जानकारी प्राप्त भएको र एक दुई दिनमा पत्र बुझेर जिम्मेवारी सम्हाल्ने जानकारी दिए।
मन्त्रालयले अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट डा. सिंहसहित डा. अजयकुमार झा र डा. विजय चन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो।

अध्यक्षमा नियुक्त डा. सिंह त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवापछि अवकाश प्राप्त वरिष्ठ चिकित्सक हुन्। शिक्षण अस्पताल परिसरमा सुरेश वाग्ले स्मृति क्यान्सर सेन्टर स्थापना र सञ्चालनमा उनको मुख्य योगदान मानिन्छ। चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीका समर्थक सिंह हालसम्म विवादमा नआएका र राम्रो छविका मानिन्छन्।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष हुन चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी) गरी क्यान्सरको क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव हुनुपर्ने कानूनी प्रावधान छ।

८ जनाको आवेदन परेको थियो
मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि खुला आवेदन माग गरेकोमा कुल ८ जनाको आवेदन परेको थियो। तीमध्ये एक जनाको प्रक्रिया नपुगेपछि मन्त्रालयले ७ जनाको प्रारम्भिक सूची (शर्टलिष्ट) सार्वजनिक गरेको थियो।

प्रारम्भिक सूचीमा रहेका डा. झा, डा. आचार्य र डा. सिंहसहित डा. जया श्रेष्ठ, डा. भावना वाग्ले, डा. लक्ष्मी नारायण सिंह र डा. विश्वराम पौडेलमध्येबाट मन्त्रालयले तीन जनाको नाम अन्तिम सिफारिसमा पठाएको थियो, जसमा अन्ततः डा. सिंहले बाजी मारेका छन्।