back
prabhu insurance
himalayanlife

महिला उद्यमी कर्जाकै लागि अहिलेसम्म २९ अर्ब ७९ करोड रुपियाँ कर्जा प्रवाह

काठमाडौँ । महिला उद्यमी कर्जा लिनेको सङ्ख्या ३० हजार पुगेको छ । महिला उद्यमी कर्जाकै लागि अहिलेसम्म २९ अर्ब ७९ करोड रुपियाँ कर्जा प्रवाह भएको छ । त्यस्तै दलित समुदाय व्यवसाय विकास कर्जातर्फ अहिलेसम्म २१ करोड १७ लाख रुपियाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जा लिनेको सङ्ख्या २९३ जना रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत हालसम्म ५२ हजारभन्दा बढी ऋणीलाई ७८ अर्ब २५ करोड रुपियाँभन्दा बढी कर्जा उपलब्ध गराएको छ । यस कार्यक्रममार्फत ब्याज अनुदानका रूपमा मात्रै ३९ अर्ब २७ करोड रुपियाँ खर्च भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्म ५२ हजार ११९ जनाले सहुलियतपूर्ण कर्जा प्राप्त गरेका छन् ।

राष्ट्र बैङ्कका अनुसार जेठसम्म ५२ हजार ११९ जनाले कुल ७८ अर्ब २५ करोड रुपियाँभन्दा बढी सहुलियतपूर्ण कर्जा प्राप्त गरेका हुन् । जसमा व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ ४७ अर्ब ५१ करोड कर्जा गएको छ । यसमा पनि बिनाधितो एक अर्ब ८८ करोड र धितोसहितको कर्जा ४५ अर्ब ६३ करोड प्रवाह भएको छ । त्यस्तै शिक्षित युवा स्वरोजगार कर्जा जम्मा ४५ जनाले एक करोड ९२ लाख रुपियाँ लिएका छन् भने वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १६० जनाले १२ करोड छ लाख रुपियाँ प्राप्त गरेका छन् ।

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिनेको सङ्ख्या २६ जना रहेको छ भने भूकम्पपीडित निजी आवास निर्माण कर्जा लिने जम्मा पाँच जना रहेका छन् । राष्ट्र बैङ्कले जाजरकोट भूकम्प पीडितलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने मौद्रिक नीतिमै उल्लेख गरेको थियो ।

त्यस्तै कपडा उद्योग सञ्चालनका लागि कर्जा लिनेको सङ्ख्या ६० रहेको छ भने युवा वर्ग स्वरोजगार कर्जा लिनेको सङ्ख्या ४७ जना छ । सिटिइभिटीबाट मान्यताप्राप्त संस्थामा तालिम लिनका लागि दिइने सहुलियतपूर्ण कर्जा लिनेको सङ्ख्या भने शून्य रहेको छ । राष्ट्र बैङ्कले २०८३ जेठसम्म प्रवाह भएको कर्जाका लागि अहिलेसम्म ३९ अर्ब २७ करोड रुपियाँ ब्याज अनुदान उपलब्ध गराएको छ ।

कृषि विकास बैङ्कले सर्वाधिक सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । बैङ्कले अहिलेसम्म छ हजार २३४ जनालाई १० अर्ब २२ करोड रुपियाँभन्दा बढी सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ । सात अर्ब ६१ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेर राष्ट्रिय वाणिज्य बैङ्क दोस्रो र छ अर्ब ७३ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेर नेपाल बैङ्क लिमिटेड तेस्रो बनेको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले छ अर्ब १२ करोड र लक्ष्मी सनराइज बैङ्कले छ अर्ब ५५ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् ।