back
prabhu insurance
himalayanlife

भदौ ९ देखि १८ औँ नाडा अटो शो, नाडाको ५०औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट पाइने

काठमाडौँ  । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।

आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने यस मेलाका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुटको घोषणा गरेको छ।

अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित मानिएको यस प्रदर्शनीलाई यस वर्ष ‘एचपी लुब्रिकेन्ट्स’ ले मुख्य प्रायोजकका रूपमा प्रस्तुत गरेको छ। ५ दशक लामो ऐतिहासिक यात्रा पूरा गरेको उत्सव मनाउन नाडाले अवलोकनकर्ताहरूका लागि खल्ती एपसँगको सहकार्यमा विशेष प्रवद्र्धनात्मक अफर ल्याएको हो।

यस अफर अन्तर्गत खल्ती एपमा गएर वा आधिकारिक खल्तीको क्युआर स्क्यान गरी अग्रिम टिकट खरिद गर्ने अवलोकनकर्ताहरूले साधारण र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत भारी छुट पाउनेछन्।

यो छुट योजना सीमित अवधिको लागि मात्र लागू हुने भएकाले इच्छुक अवलोकनकर्ताहरूलाई समयमै टिकट सुरक्षित गर्न नाडाले आग्रह गरेको छ।

यस वर्षको प्रदर्शनीमा नवीनतम ईभी (इलेक्ट्रिक) तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनहरू, अत्याधुनिक अटो प्रविधि, पार्टपुर्जा, लुब्रिकेन्टका साथै वित्तीय तथा बिमा सुविधाहरू एकै ठाउँमा उपलब्ध गराइनेछन्।

५० वर्षको गौरवमय यात्रालाई उत्सवका रूपमा मनाउन र अटोमोबाइल क्षेत्रका नयाँ प्रविधिसँग साक्षात्कार गर्न अटोप्रेमी, युवा तथा विद्यार्थीहरूलाई आयोजक नाडाले आह्वान गरेको छ।