back
prabhu insurance
himalayanlife

पहिलो महिना पौने आठ अर्ब बढ्यो राजश्व

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा पौने ८ अर्ब रुपैयाँ राजश्व बढेको छ।

चालु आर्थिक वर्षको साउन मसान्तसम्म ९२ अर्ब २२ करोड रुपैयाँ संकलन भएको छ। यो राजश्व अघिल्लो वर्षको साउनको तुलनामा ७ अर्ब ७६ करोड रुपैयाँले बढी हो। गत आर्थिक वर्षको साउनमा ८४ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन भएको थियो।

सरकारले चालु आर्थिक वर्षदेखि करदाता प्रोत्साहन कार्यक्रम ल्याएको छ। यसले राजश्व बढ्न भूमिका खेलेको अनुमान गरिएको छ। त्यसबाहेक भन्सार नाकामा कडाइ गर्दा पनि राजश्व वृद्धि भएको देखिन्छ। अन्तरिक राजश्व विभागले राजश्व प्राप्तिको क्षेत्रगत विश्लेषण भैरहेको जनाएको छ।

गत आर्थिक वर्षमा कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएको थियो। यस वर्ष १ खर्ब बढाएर १५ खर्ब ८० अर्ब राजश्व लक्ष्य राखिएको छ।

त्यस्तै, चालु आर्थिक वर्षको साउनमा समग्र खर्च घटेको छ। गत आर्थिक वर्षको साउनमा कुल बजेटको २.३६ प्रतिशत खर्च भएको थियो। चालुतर्फ १.५६ प्रतिशत र पुँजीगततर्फ ०.१८ प्रतिशत खर्च भएको थियो। वित्तीय खर्च ७.२२ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षको पहिलो महिनामा चालु खर्च १.६८ प्रतिशत, पुँजीगत ०.३१ प्रतिशत र वित्तीय खर्च ४.५३ प्रतिशत भएको छ।