back
prabhu insurance
himalayanlife

औषधिदेखि पुरातात्विक सम्पदासम्म आयातमा शतप्रतिशत कर छुट, यी हुन् छुट पाउने वस्तु

काठमाडौं । सरकारले जीवनरक्षक औषधि, स्वास्थ्य सामग्री, सुरक्षा उपकरण र ऐतिहासिक सम्पदा आयातमा पूर्ण कर तथा महसुल छुट दिएको छ ।

अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गर्दै विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्था, मित्रराष्ट्रहरु तथा नियोगहरुबाट अनुदान एवं सहयोगमा छुट दिएको हो ।

स्वास्थ्य तथा पोषण सामग्री, निर्वाचन सहजीकरणका सुरक्षा उपकरण, शान्ति सेनाका बन्दोबस्तीका सामान र विदेशबाट फिर्ता ल्याइएका ऐतिहासिक पुरातात्विक सम्पदाहरुको आयातमा लाग्ने सम्पूर्ण भन्सार महसुल, मूल्य अभिवृद्धि कर, शुल्क तथा दस्तुर पूर्ण रुपमा छुट दिने निर्णय गरेको छ ।

राजपत्र सूचना प्रकाशित २६ वटा छुट्टाछुट्टै सूचना अनुसार स्वास्थ्य, सुरक्षा, शिक्षा र सांस्कृतिक सम्पदा पुनस्र्थापनालाई सहजीकरण गर्ने उद्देश्यले ठूलो परिमाणको राजस्व छुट सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको हो । जनस्वास्थ्य र मातृ–शिशु कल्याणलाई प्राथमिकता दिँदै सरकारले स्वास्थ्य क्षेत्रमा भित्रिने औषधि र स्वास्थ्य उपकरणमा छुटको निर्णय गरेको छ ।

युनिसेफ नेपाल, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष तथा युएसआईडी लगायतका अन्तर्राष्ट्रिय संस्थाहरू मार्फत प्राप्त भएका स्वास्थ्य सामग्रीहरू स्वास्थ्य सेवा विभागका विभिन्न महाशाखाहरूलाई हस्तान्तरण गर्दा लाग्ने सबै प्रकारका करहरु मिनाहा गरिएका छन् ।

यस अन्तर्गत सुरक्षित प्रसूतिका लागि आवश्यक पर्ने २५ हजार चार सय ५६ अमेरिकी डलर बराबरका उपकरण रहेको छ भने, बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक १८ हजार ८०३ अमेरिकी डलर बराबरका सामग्रीले पनि छुट पाएका छन् ।

नवजात शिशुका लागि अति आवश्यक मानिने एसएनसियु तथा एनआइसियु सेवाका आठ हजार चार सय २४ अमेरिकी डलर बराबरका २७० थान सक्सन क्यानिस्टर होल्डर आयातमा भन्सार महसुल र मूल्य अभिवृद्धि कर मिनाहा गरिएको हो ।

भिटामिन ए क्याप्सुल, एफ–७५ र एफ–१०० थेराप्युटिक मिल्क आयात गर्दा लाग्ने कर पूर्ण रुपमा छुट दिइएको छ । बालबालिकालाई वर्षमा दुई पटक खुवाइने जुकाको औषधिका रुपमा विश्व स्वास्थ्य संगठनबाट प्राप्त एक लाख ११ हजार नौ सय अमेरिकी डलर बराबरका अल्बेन्डाजोलका हजारौँ ट्याब्लेटहरुमा पनि छुट दिएको छ ।

शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत प्राप्त हुने ९ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका रेडि टु युज थेराप्युटिक फुड पैठारीमा पनि सरकारले राजस्व नलिने निर्णय गरेको छ ।

परिवार नियोजन तथा प्रसूति स्वास्थ्य सेवातर्फ सामाग्रीमा पनि छुट दिएको छ । डिम्पल मेड्रक्सी प्रोजेस्टेरोन, कन्ट्रासेप्टिभ जाडेल इम्प्लान्ट, कन्डम, सायानाप्रे तथा जिन्निया एफ ओरल पिल्स लगायतका करिब १७ लाख अमेरिकी डलर मूल्य बराबरका साधन तथा सामग्रीहरूमा भन्सार महसुल तथा दस्तुर मिनाहा गरिएको छ ।

कालाजार, डेंगु, मलेरिया, रुबेला, दादुरा, जापानी इन्सेफलाइटिस र रेबिज रोग नियन्त्रणका लागि आयातित किट तथा खोपमा पनि छुट दिइएको छ ।

२०८२ मा भएको निर्वाचनको निर्वाचन सहजीकरण र सुरक्षा सामग्रीमा पनि छुट दिएको छ । प्रतिनिधि सभा निर्वाचनलाई सहजीकरण गर्ने प्रयोजनका लागि भारत सरकारबाट सहायता स्वरुप प्राप्त भएका सवारी साधन तथा सुरक्षा उपकरणहरुमा पनि सरकारले पूर्ण कर छुट दिएको छ ।

त्यसैगरी, निर्वाचन सुरक्षा सुदृढीकरणका लागि भारत सरकारबाटै अनुदान स्वरुप उपलब्ध गराइएका २१ करोड ५१ लाख भारतीय रुपैयाँभन्दा बढी मूल्यका सुरक्षा सामग्रीहरुको पैठारीमा लाग्ने सम्पूर्ण दस्तुर, शुल्क र भन्सार पूर्ण मिनाहा गरिएको छ ।

मिसनहरुमा कार्यरत नेपाली शान्ति सैनिकहरुको संख्या घटेपछि स्वदेश फिर्ता ल्याउन बाँकी रहेका ठूलो परिमाणका बन्दोबस्तीका सामानहरुमा लाग्ने सम्पूर्ण महसुल तथा कर छुट दिने निर्णय गरिएको छ । सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ल्याइएका ३८ वटा सवारी साधन, ३७ वटा कन्टेनर, ५ वटा ट्रेलर र ६ वटा जेनेरेटरहरुको पैठारीमा लाग्ने कर तथा शुल्क सरकारले मिनाहा गरेको छ ।

गैरकानूनी रुपमा अमेरिका पुर्याइएका दुई अति महत्वपूर्ण पुरातात्विक कलात्मक वस्तुहरु स्वदेश फिर्ता ल्याउँदा लाग्ने सम्पूर्ण भन्सार दस्तुर छुट दिइएको छ । जसमा पद्मपाणि लोकेश्वर र नृत्यदेवीको मूर्ति रहेको छ । राजपत्रमा प्रकाशित भएपछि यी निर्णयहरु कार्यान्वयनमा आइसकेका छन् ।