back
prabhu insurance
himalayanlife

कृष्णभीरको बाटो बन्द भएपछि वैकल्पिक मार्गबाट ग्यास आपूर्ति हुने

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि रोकिएको एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाइएको छ।

काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउने व्यवस्था मिलाइएको हो। नेपाल आयल निगमले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासीलगायतका जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाका उद्योगसँग समन्वय गरी खाली सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाएको छ।

रिफिल गरिएका एलपी ग्यास सिलिन्डर कृष्णभीरको सडक नखुलेसम्म वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री–वितरण गरिनेछ।

त्यस्तै, पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्यांकर तथा ट्रकलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौंसम्म ल्याउने व्यवस्था समेत मिलाइएको नेपाल आयल निगमले जनाएको छ।