back
prabhu insurance
himalayanlife

शेयर कारोबार बन्दबारे अध्ययन गर्न सेबोनको निरीक्षण टोली खटियो

काठमाडौं । आज शेयर कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निरीक्षण टोली खटाएको छ । ब्रोकर कम्पनीको सर्भर रहेको डाटा सेन्टरमा समस्या आउँदा कारोबार स्थगित गरिएको हो ।

सेबोनका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार बोर्डबाट नेप्सेलाई धितोपत्र कारोबार रोक्नुपर्ने गरी उत्पन्न परिस्थितिबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटनाहरू पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारहरूसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न निर्देशन दिइएको छ ।

समस्याको तत्काल पहिचान गर्न र कारोबार स्थगन गर्नुपर्ने वास्तविक कारण पत्ता लगाउन धितोपत्र बोर्डले उप–कार्यकारी निर्देशकको नेतृत्वमा ५ सदस्यीय निरीक्षण टोली खटाएको छ ।

उक्त टोलीले पेस गर्ने सुझावका आधारमा आगामी दिनमा नेपालको धितोपत्र बजारलाई अझ स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन आवश्यक थप कदमहरू चालिने प्रतिबद्धता जनाएको छ ।

७२ वटा ब्रोकर कम्पनीको सर्भर राखिएको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो । सोही समस्याका कारण आज दिनभर शेयर कारोबार स्थगित गरिएको थियो ।