back
prabhu insurance
himalayanlife

प्रशोधित तेलले निर्यातमा उछाल

काठमाडौँ । अर्जेन्टिना, ब्राजिल, चीनलगायतका देशबाट ल्याइएको कच्चा भटमास, सूर्यमूखी र पाम तेल नेपालमा प्रशोधन गरेर भारतमा गरिने निर्यातले नेपालको कुल निर्यात उच्च रूपले बढेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै (साउन–भदौमा) नेपालले ७६ अर्ब ५८ करोड ७५ लाख रुपियाँको वस्तु निर्यात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा करिब ६२ प्रतिशतले बढी हो ।

कुल निर्यातमध्ये आधाभन्दा बढी हिस्सा खानेतेलकै छ । विभागको तथ्याङ्क अनुसार दुई महिनामा मात्रै करिब ४० अर्ब रुपियाँ बराबरको खानेतेल निर्यात भएको छ । जुन कुल निर्यातको करिब ५५ प्रतिशत हुन आउँछ । यस अवधिमा सबैभन्दा धेरै ३६ अर्ब रुपियाँ बराबरको भटमास तेल निर्यात भएको छ ।

दक्षिण एसियाली व्यापार सुविधा (साफ्टा) अन्तर्गत नेपालले शून्य भन्सारमा भारतमा निर्यातको सुविधा पाउँछ । भारतले कच्चा तेलमा लगाएको भन्सारदरका कारण मूल्य बढी पर्ने भएकाले नेपालका व्यापारीले त्यहाँको बजारमा प्रशोधित तेल निर्यात गर्दै आएका छन् । साफ्टाको सोही सुविधा उपयोग गर्दै विगत पाँच वर्षयता व्यापारीहरूले यसको लाभ लिँदै आएका छन् ।

प्रशोधित तेलबाहेक नेपालबाट यो अवधिमा दुई अर्ब २३ करोड रुपियाँको कपडा, एक अर्ब ७६ करोड रुपियाँको गलैँचा निर्यात भएको छ । प्रशोधित तेलको निर्यात बढे पनि नेपालमै उत्पादन भएका मौलिक वस्तुको निर्यात भने उल्लेख्य बढ्न सकेको छैन ।