मिडल क्लासका लागि टाटाको नयाँ कम्प्याक्ट सेडान एरिस लन्च
टाटा मोटर्सले आफ्नो नयाँ कम्प्याक्ट सेडान टाटा एरिस लन्च गरेको छ । सो मोडलले कम्पनीको पुरानो टिगोरलाई प्रतिस्थापन गर्नेछ र इन्ट्री लेभल सेगमेन्टमा नयाँ फिचरसहित लन्च गरिएको छ । यसको मूल्य ५ लाख २९ हजारबाट सुरु भएर टप भेरियन्टमा ९ लाख १९ हजार भारुसम्म पुग्छ। कम्पनीले यसको बुकिङ खुला गरिसकेको छ भने डेलिभरी अक्टोबर ११ बाट सुरु हुनेछ।
टाटा एरिसमा १.२ लिटर पेट्रोल र सीएनजी इन्जिन उपलब्ध गराइएको छ। दुवै पावरट्रेनमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प दिइएको छ। नयाँ एरिसले भारतीय बजारमा मारुती सुजुकी डिजायर, हुन्डाई औरा र होन्डा अमेजजस्ता कम्प्याक्ट सेडानसँग प्रतिस्पर्धा गर्नेछ।
टाटा एरिस ४ मिटरभन्दा कम लम्बाइको छ । यसको फ्रन्टमा स्लिम एलईडी हेडल्याम्प, नयाँ ग्रिल र फुल विड्थ डीआरएल स्ट्रिप दिइएको छ। साइड प्रोफाइलमा क्लीन लाइन्स र र यू आकारको अलोय ह्विल प्रयोग गरिएको छ भने रियरमा कनेक्टेड एलईडी टेलल्याम्प र बीचमा टाटा लोगो राखिएको छ। कारमा ४१९ लिटरको बुट स्पेस उपलब्ध छ। सीएनजी भेरियन्टमा ट्विन–सिलिन्डर प्रयोग गरिएको छ ।
यसको क्याबिनमा उल्लेखनीय परिवर्तन गरेको छ। ड्यासबोर्डमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ। एएमटी भेरियन्टमा रोटरी डायल गियर सेलेक्टर दिइएको छ भने स्टेयरिङ ह्विल टु स्पोक डिजाइनको छ जसमा कन्ट्रोल्स राखिएको छ ।
यसमा रियर एसी भेन्ट, आर्मरेस्ट र चार्जिङ पोर्ट उपलब्ध गराइएको छ। टप भेरियन्टमा भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस चार्जिङ, टाइप–सी यूएसबी पोर्ट र अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता फिचर उपलब्ध हुनेछ । सेफ्टीका लागि सबै भेरियन्टमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, रियर पार्किङ सेन्सर, आईएसओफिक्स चाइल्ड–सिट माउन्ट र हिल–होल्ड असिस्ट उपलब्ध छ । टप भेरियन्टमा ३६० डिग्री क्यामेरा र डिजिटल डीभीआरजस्ता फिचर पनि दिइएको छ।
एरिसमा १.२ लिटर, ३ सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिएको छ, जसले करिब ८५–८६ बीएचपी पावर र ११३ एनएम टर्क उत्पादन गर्छ। सीएनजी मोडमा पावर करिब ७४–७५ बीएचपी र टर्क ९६ एनएम हुनेछ। पेट्रोल र सीएनजी दुवै विकल्पमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्स उपलब्ध छ ।
वि.सं.२०८३ असोज ११ ०७:३४




















