‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ
काठमाडौँ । होटल तथा रेष्टुरेन्टको डिजिटल रुपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको छ ।
होटल व्यवसायी महासङ्घ नेपालले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको हो ।
एक वर्षसम्म सञ्चालन हुने अभियानमार्फत सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्तासँग जोड्ने लक्ष्य राखिएको महासङ्घका अध्यक्ष टिआर भण्डारीले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत गुगल बिजनेस प्रोफाइल, गुगल नक्सा, अनलाइन बुकिङ, होटल व्यवस्थापन प्रणाली, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल, ग्राहक समीक्षा व्यवस्थापन तथा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोग आवश्यक रहेको बताउँदै अभियानमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठले अभियानलाई देशव्यापी बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अभियानले विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यका होटल तथा रेस्टुरेन्टलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको छ ।
वि.सं.२०८३ असोज १२ ०५:३०




















