लघुवित्तको न्यूनतम ब्याजदर नै १५ प्रतिशत
काठमाडौं । गरीब तथा विपन्न वर्गलाई वित्तीय सेवा दिने लघुवित्त वित्तीय संस्थाको न्यूनतम ब्याजदर नै १५ प्रतिशत पुगेको छ । बजारमा तरलता अभावसँगै लागत बढेको भन्दै लघुवित्त संस्थाहरूले ऋणको ब्याजदर नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीमासम्म पुर्याएका हुन् ।
राष्ट्र बैंकले गतवर्षदेखि लघुवित्तले अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सीमा तोकेको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि लघुवित्तले न्यूनतम ब्याजदर नै माथिल्लो सीमामा पुर्याएका हुन् ।
राष्ट्र बैंकले प्रकाशित गरेको लघुवित्तहरूको ब्याजदर सम्बन्धी प्रतिवेदनमा खुद्रा कर्जा प्रवाह गर्ने ६१ लघुवित्तमध्ये ३५ ओटाको ब्याजदर १५ प्रतिशत पुगेको उल्लेख छ । यीबाहेकका संस्थामा पनि अधिकांशको न्यूनतम ब्याजदर १० प्रतिशतभन्दा माथि छ ।
बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गलाई अनिवार्य रूपमा लगानी गर्नुपर्ने कर्जा थोकमा लिएर लघुवित्तले कर्जा प्रवाह गर्दै आएका छन् ।
बैंकहरूकै ब्याजदर १५ प्रतिशतसम्म कायम भएकाले राष्ट्र बैंकले तोकेको सीमाभित्र बसेर काम गर्न कठिन भएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताए ।
‘अहिले हामीले बैंकबाट लिने कर्जाको ब्याजदर नै १५ प्रतिशतसम्म पुगेको छ,’ उनले भने, ‘यो अवस्थामा लघुवित्तको ब्याजदर बढ्नु स्वाभाविक हो ।’
लघुवित्त संंस्थालाई सस्तो ब्याजदरमा पूँजी उपलब्ध हुनुपर्ने भन्दै संघले बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कर्जा लघुवित्तलाई दिँदा आधार दरमा अधिकतम १ प्रतिशतमात्र प्रिमियम जोड्न पाउने व्यवस्था गर्न राष्ट्र बैंकमा मागपत्र बुझाइसकेको छ ।आजको आर्थिक अभियान दैनिकबाट
वि.सं.२०७९ असार १७ ०७:४८



















