शेयर बजारका लगानीकर्ता उत्साहि

काठमाडौं । धितोपत्र कारोबारको यो साताको अन्तिम दिन असार ३ गते नेप्से परिसूचक १.२९ अंकले घट्यो । चलखेल गरेर अस्वाभाविक मूल्य बढाएको भनी धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमको सूचीमा राखेपछि लगानीकर्ता त्रसित बनेका थिए ।
यसले साना लगानीकर्तालाई सेयर सम्बन्धी जानकारी दिने सोसल ग्रुपहरूमा ‘पेनिक सेल’ (आत्तिएर गर्ने बिक्री) नगर्न धेरै नै सुझाएका पनि थिए । तर, पनि बुधबारको बजारमा ५२ अंकको गिरावट आयो र, फाइनान्स र हाइड्रोपावर कम्पनीका अधिकांश कम्पनीमा नकारात्मक सर्किट नै लाग्यो । धेरै लगानीकर्ताको अनुमान थियो कि बिहीबार पनि बजारमा ठूलो अंकको गिरावट आउने छ ।
तर, धितोपत्र बोर्डले विशेषगरी हाइड्रोपावर, फाइनान्स र बीमा कम्पनीका सेयर खरिदमा लगाएको लगामलाई लगानीकर्ताको उच्च मनोबलका कारण धेरैको अपेक्षा विपरीत बिहीबार सेयर बजार सम्हालियो ।
बोर्डले जोखिम भनेका कम्पनी मध्ये धेरै कम्पनीको सेयरमा उत्साहजनक नै बढ्न पुग्यो । बोर्डले हाइड्रोपावरका २१, बीमाका १० र फाइनान्स लगायतका कम्पनीलाई नकारात्मक सूचीमा राखेको थियो ।
तर, बिहीबारको बजारमा खानीखोला, रसुवागढी, नेपाल फाइनान्स, सोल्टी होटल, आईएमई जनरल इन्स्योरेन्स, बरुण हाइड्रोपावर, एचपीसी, नागरिक लगानी कोष, हुर्जा हाइड्रोपावर, लिबर्टी इनर्जी, राधी हाइड्रोपावर, रिलाइन्स लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको सेयर मूल्य दुईदेखि करिब ७ प्रतिशतसम्म बढेका छन् ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले धितोपत्रको विज्ञप्तिका बाबजुद पनि सेयर बजार बढ्नुमा लगानीकर्ताको उच्च मनोबल नै भएको बताउँछिन् ।
धितोपत्र बोर्डले त नियमन गर्नुपर्छ तर यसरी बजार बढेर ३ हजार पुगेपछि गर्ने होइन । यदि कम्पनी जोखिममा छ भने त एक वर्षअघि नै सचेत गराउनुपर्थ्यो । अहिले निकालेर हुन्छ,भन्ने लगानीकर्ताहरूको गुनासो छ ।
बिहीबार बजार सामान्य हुनुले लगानीकर्ताहरू सुझबुझपूर्ण निर्णय लिन सक्षम छन् भन्नेसमेत देखाएको छ । लगानीकर्ता आफू सचेत हुन आवश्यक छ तर, आत्तिनु पर्ने अवस्था अहिले नभएको लगानीकर्ताहरू बताउछन् ।
लगानीकर्ताको स्वतन्त्रतालाई लगाम लाउन खोजिएको भन्दै नेपाल धितोपत्र बोर्डको विज्ञप्तिलाई स्वतन्त्र ऊर्जा उत्पादक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ तथा लगानीकर्ता संगठनलगायतले विरोध जनाएका छन् ।
वि.सं.२०७८ असार ४ १६:३१