back
hangrilabank
himalayanlife
stc

ठूला बैंकले ब्याजदर घटाउँदा शेयर बजार उचालियो

काठमाडौं । समग्र बैंकिङ उद्योगमा ठूलो मार्केट सेयर ओगटेका वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएपछि त्यसको सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ । वाणिज्य बैंकमध्ये केहीले आइतबार बिहानै असोजको तुलनामा कात्तिकका लागि घटेको ब्याजदर प्रकाशित गरेका थिए । वाणिज्य बैंकहरुले ब्याजदर घटेर प्रकाशित गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ।

ब्याजदर र सेयर बजारको सम्बन्ध सधैं उल्टो हुन्छ । अक्सर ब्याजदर बढ्दा सेयर बजारमा नकारात्मक प्रभाव पर्छ भने ब्याजदर घट्दा त्यसको लाभ बजारलाई प्राप्त हुन्छ । ब्याजदरकै कारण दशैं विदापछि बजार खुलेको पहिलो दिन असोज ३१ गते नै नेप्से इण्डेक्समा भने दोहोरो अंकले सुधार भएको छ ।

आज नेप्से परिसूचक १७.५९ अंकले बढेको छ । धेरै लगानीकर्ता दशैं रमझममै रहेर कारोबारमा सहभागी नभएका कारण कारोबार रकम भने घटेर १ अर्ब ४९ करोडमा सीमित बन्न पुगेको छ । आज बजारमा २१८ कम्पनीका ४ लाख ७६ हजार २९५ कित्ता सेयर किनबेच भएको छ ।

ब्याजदरसँग सम्बन्धित सुखद खबरहरुले दशैंपछि खुलेको बजारमा सकारात्मक तरंग ल्याएकाले लगानीकर्ता उत्साहित भएका छन। शेयर बजार नेप्से ३२०० पुगेको बजारले करेक्सन पूरा गरेको भए पनि माथि जानलाई कुनै निहुँ पर्खिएर बसेको थियो । त्यो निहूँ बजारले पाएको छ, अब दौडिन्छ ।

ठूला बैंकहरुले ब्याजदर घटाएपछि र बैंकका सीइओबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै राख्ने सहमति बनेको खबर बाहिरिएपछि पनि बजारमा सकारात्मक प्रभाव परेको छ । दशैंजस्तो ठूलो पर्व, यही बीचमा असोज मसान्तको चटारो लगायतका कारणले पनि धेरै लगानीकर्तामा बजारले अन्यौल सिर्जना गरिदिएको थियो ।

तर दशैं विदापछिको पहिलो कारोबार दिनमै बजारमा खरीदकर्ता हाबी भएका छन् । यसले ‘पर्ख र हेर’को रणनीतिमा बसेका लगानीकर्ता पनि बजार छिर्न थाले भनेर बुझ्दा हुन्छ।

आजको बजारको बढोत्तरी पछाडिको कारण ब्याजदरमा आएको कमीलाई नै मानिन्छ । लगानीकर्ता त्यसै पनि घटेर बेच्ने पक्षमा थिएनन्, त्यसमाथि ब्याजदर घटेको वा ठूला बैंकको स्थिर रहेको कुराले धेरैमा सकारात्मक सञ्चार गरिदियो ।

यदि यही बेला बित्त कम्पनी र विकास बैंकको ब्याजदर पनि १० प्रतिशतभन्दा तलै हुने हो भने लगानीकर्ता अझै उत्साहित हुन्थे ।

अब बजारमा प्यानिक अवस्था रहन्न । बैंक ब्याजदर धेरै नबढेकोले बजार अझै बढ्छ भनेर आशावादी हुने ठाउँ छ । अहिलेको भाउमा बेच्नुभन्दा होल्ड गर्नेले नै जित्छ भन्ने मनोविज्ञान पनि लगानीकर्तामा देखिएको छ। दशैंले गर्दा कारोबार घट्नु स्वभाविक हो। कोजाग्रत पूर्णिमापछिबाट भने दैनिक कारोबार ५ अर्ब रुपैयाँ भन्दा माथि जाने अनुमान छ।

के–के भयो बजारमा ?

आइतबार बजारमा लगभग सबै उपसमूहको परिसूचक हराभरा देखिए । होटल तथा पर्यटन समूहको उपसूचकमा ३.५१ प्रतिशतको उछाल आयो भने अन्य समूहमा २.०६ प्रतिशतसम्मको बढोत्तरी भयो । व्यापार समूहको उपसूचक १.३९ प्रतिशत, विकास बैंक समूहको उपसूचक १.३७ प्रतिशत तथा निर्जीवन बीमा समूहको उपसूचक १.०३ प्रतिशतले बढ्यो ।

बैंकिङ समूह ०.३४ प्रतिशतले बढेको यो दिन बित्त समूहमा ०.६१ प्रतिशत, जलविद्यूत समूहमा ०.५७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६३ प्रतिशत, माइक्रोफाइनान्समा ०.३२ प्रतिशत, जीवन बिमा समूहमा ०.७५ प्रतिशत र इन्भेष्टमेन्ट समूहमा ०.२ प्रतिशतको बढोत्तरी भयो । म्युचुअल फण्ड समूहको उपसूचक भने ०.७५ प्रतिशतले घट्यो ।

आज नबिल बैंकको सेयर सबैभन्दा बढी कारोबार भयो । यो बैंकको ८ करोड ३२ लाख बढीको सेयर किनबेच भयो । सम्भावित आकर्षक लाभांश घोषणाको अनुमानमा लगानीकर्ता नबिल बैंकमा झुम्मिएका अनुमान लगाउन सकिन्छ ।

हिमालयन डिस्टीलरीको ७ करोड ५३ लाख बढीको कारोबार भयो भने आइसीएफसी फाइनान्सको ६ करोड ३९ लाख, सानिमा बैंकको ५ करोड ३९ लाख, कामना सेवाको ४ करोड १८ लाख, सिद्धार्थ बैंकको ३ करोड ८३ लाख बढीको कारोबार भयो ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन चन्द्रागिरी हिल्सको सेयर मूल्य सर्वाधिक ७ प्रतिशतको हाराहारीमा बढ्यो । हिमालयन उर्जाको सेयरमूल्य ५.०६ प्रतिशतले बढेको यो दिन घलेम्दी हाइड्रोपावरको करिब ५ प्रतिशत तथा कामना सेवा विकास बैंकको सेयरमूल्य ४.२६ प्रतिशतले बढ्यो ।

यो दिन सिटिजन्स म्युचुअल फण्ड २ का इकाइधनीले धेरै गुमाए । यो फण्डको इकाईमूल्य ५.६६ प्रतिशतले घट्यो । बोटलर्स नेपाल तराई लिमीटेडको सेयरमूल्य ४ प्रतिशत हाराहारीमा घट्यो ।