back
stc
prabhu insurance

सेयर बजारमा ह्रास आउनेक्रम मंगलबार पनि जारी रहे

काठमाडौं । सेयर बजारमा ह्रास आउनेक्रम मंगलबार पनि जारी रहेको छ । नेप्से सूचक दोहोरो अंकले घट्दा कारोबार रकम (टर्नओभर) झनै तल झरेको छ । यस दिन नेप्से सूचक १५.०२ अंकले घटेर २३७०.९९ विन्दुमा अडिएको छ भने करिब १ अर्ब रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।

एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सेयर भाउ घट्दै निकै सस्तो भइसकेकाले अत्यावश्यकबाहेक अरु अवस्थामा खासै सेयर बिक्री गर्न नचाहने प्रवृत्ति देखिएको छ ।

यसैगरी, क्रेताहरु पनि मूल्य बढाएर किनिहाल्ने पक्षमा देखिएका छैनन् । सोही कारण बजारमा खासै रौनकता देखिएको छैन । कारोबार रकम न्यून हुनुको एउटा कारण पनि यही हो ।

हाम्रो सेयर बजारलाई केन्द्रीय बैंकको गलत नीतिले अप्ठेरो अवस्थामा पुर्याएको हो । सेयर धितो कर्जामा ४–१२ को क्याप, सेयर कर्जामा जोखिमभार बढाउने निर्णय, बैंकहरुलाई माइक्रोफाइनान्सको सेयरमा लगानी गर्न बन्देज लगायतका कारण बजार अप्ठेरो अवस्थामा पुगेको हो ।

यस्ता गलत नीतिकै कारण आम लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक हुन सकेको छैन । सीसीडी रेसियोलाई एकाएक सीडीमा परिवर्तन गर्ने नीतिका कारण अहिले चरम तरलता अभाव भइरहेको छ । जसका कारण बैंक ब्याजदर उच्च विन्दुमा पुगेको छ । यसले पनि बजारलाई थप अप्ठेरो बनाएको हो ।

यसअघि आइतबार बजारमा झन्डै १०० अंकको वृद्धि भएको थियो । तर यो वृद्धि टिक्न सकेन । बजार बढ्ने बित्तिकै ट्रेडरहरु हावी हुने प्रवृत्ति देखिएकाले बजार मािथ जान नसकेको हो । पछिल्लो समय बजारमा अल्पकालीन कारोबारीहरु हावी भइरहेका छन् ।

वित्तीय प्रणालीमा तरलता संकुचनका कारण पनि बजारमा अपेक्षा अनुसार खरिदकर्ता हावी हुन नसकेको अनुमान गरिएको छ ।

तथापि, हाम्रो बजार ९ महिनादेखि बजार समग्रमा करेक्सनकै क्रममा रहेको छ । निरन्तर बजार घटेपछि बजारमा भाउहरु निकै सस्तो भइसकेको छ । ५२ हप्ताकै न्यून विन्दुमा भाउ आइपुगेको छ । यसैगरी, पीई रेसियो हेर्दा पनि धेरैको भाउ २० भन्दा तल आइसकेको अवस्था हो ।

विभिन्न पक्षहरुबाट हेर्दा समग्रमा पुँजी बजारका लागि केही सकारात्मक माहोल देखिएको अवस्था छ । तर बजारले भने त्यस अनुसार सकारात्मक रेस्पोन्स देखाउन सकेको छैन । स्थानीय निकाय निर्वाचनका लागि उम्मेदवारहरुको मनोनय दर्ता सम्पन्न भइसकेको छ ।

यससँगै चुनावी चहलपहल थप बढेको छ । चुनावमा दल तथा उम्मेदवारले पैसा खर्च गर्ने भएकाले उक्त पैसा बजारमा आउनेछ । यसले तरलता सहज बनाउने सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यसैगरी, सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भइरहेका छन् । चरम तरलता अभाव र ब्याजदर वृद्धिको अवस्थामा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गर्न सक्ष्म भएका छन् ।

अब सरकारी खर्चमा तेजी आउँदै जानेछ । सेयर बजारको सिजन पनि सुरु भएको छ । यी परिदृश्यहरुमा बजारमा क्रमशः सकारात्मक माहोल देखिने लगानीकर्ताहरुको अपेक्षा रहेको छ ।

बिमा कम्पनीहरुको पुँजी वृद्धि हुँदैछ । सबल कम्पनीहरुले हकप्रद र बोनस सेयरबाटै पुँजी वृद्धि गर्ने भएका छन् । यसले पनि ढिलोचाँडो बजारमा सकारात्मक माहोल ल्याउने विश्वास गर्न सकिन्छ ।

बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ ।

सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । रिस्क–रिवार्ड रेसियोलाई ख्याल गर्दै लगानी सम्बन्धी निर्णय लिन अनुभवीहरुले सुझाव दिने गरेका छन् ।

यस दिन २२८ कम्पनीको ३४ लाख १९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ करोड २१ लाख रुपैयाँसहित कारोबार रकममा सिद्धार्थ बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र नेष्डो समृद्ध लघुवित्त परेका छन् ।