आजका बालबालिका भोलीका कर्णघार
–नरोत्तम सुवेदी
आजका बालबालिका भोलिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन् । बालबालिकालाई बालश्रममा प्रयोग गरिनु अपराध हो । अवसर र उचित वातावरण पाए मात्रै आजका बालबालिका भोलिका कर्णधार बन्न सक्छन् ।
बालबालिकालाई कल कारखाना, खानी वा यस्तै जोखिमपूर्ण काममा लगाउन कानूनतः निषेध गरिएको छ । चौध बर्ष उमेर पूरा नगरेका बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउनु हुँदैन र जोखिमपूर्ण कामहरुमा १५ बर्ष देखि १८ बर्ष सम्मका बालबालिकालाई काममा लगाएमा दण्ड सजाएको व्यवस्था बाल श्रम ऐन २०५६ ले गरेको छ ।
बालबालिकालाई जोखिमपूर्ण कामहरुमा लगाएको छ कि छैन भनी अनुगमन, नियमन तथा नियन्त्रण र दण्ड सजाय गर्ने अधिकार श्रम मन्त्रालयमा रहेको छ ।
तर आज करीब दश लाख बालबालिका अनौपचारिक तथा औपचारिक क्षेत्रमा बालश्रममा रहेको कुरा अनौपचारिक तथ्याङ्कले जनाएको छ । विशेषतः विभिन्न कलकारखानाहरुमा, निर्माण कार्यहरुमा, गलैंचा कारखानाहरुमा, जरी कारखानाहरुमा, होटेल रेस्टुराँहरुमा, ईट्टा भट्टाहरुमा, सार्वजनिक परिवहन र घरेलु कामदार लगायतमा बालबालिकाहरु बाल श्रममा रहको तथ्य हाम्रोसामु जगजाहेर छ ।
यी मुद्दाहरुमा श्रम मन्त्रालयले प्राथमिकतामा नराखेको, अन्य काममा अल्झिएको, बालबालिका प्रति सम्वेदनशील नभएको र प्रभावकारी अनुगमन गर्न सकेको देखिदैंन ।
आजको बालबालिका भोलिका राष्ट्र निर्माणका आधारशीला हुन् । सभ्य परिवार, समाज र राज्यले बालबाललिकालाई श्रममा लगाएर बाल शोषण गर्नु अपराधजन्य कार्य हो । यद्यपि आर्थिक प्रभाव,प्रशासनिक प्रभाव, र राजनीतिक दवावले बालबाललिकालाई श्रममा लगाएर बाल शोषण गर्ने गरिएको पाईन्छ ।
यसका अलवा बालबालिका आज्ञाकारी हुने र पारिश्रमिक सस्तो हुने भएकोले अनौपचारिक तथा औपचारिक क्षेत्रमा बालश्रममा लगाएको पाईन्छ । यसका साथै अनौपचारिक क्षेत्रमा बालश्रम –
कानूनको अभाव रहेको छ । सुशिक्षित परिवार, सभ्य समाज र समृद्ध मुलुक बालश्रमको जगमा
उभिएको हुदैन ।
तसर्थ राज्यले अनौपचारिक क्षेत्रलाई समेटने गरी कानून निर्माण गर्नु पर्ने देखिन्छ । तर्क र औचित्य पुष्टि गरेर कुनै पनि बहानामा बालबालिकाको बाल श्रम शोषण गर्नु
बालबालिकाको अधिकारको हनन् हो । पारिवारिक कलह, आर्थिक अभाव वा शिक्षा दिने नाममा बाल श्रम शोषण गरिनुहुदैन । सुसंस्कृत परिवार, चेतनशील समाज निर्माणको लागि बालबालिका मैंत्री वातावरण गर्नु आजको आवश्यकता हो ।
तसर्थ, बालबालिकाको हातमा हंसिया र हथौंडा होईन कलम र किताब नै हुनु पर्दछ । यसका लागि परिवार, समाज, संस्था र राज्यका दायित्व र भूमिका उतिकै रहनु पर्छ । बाल अधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक निर्माणको जग हो ।
वि.सं.२०७८ भदौ १७ १५:४४




















