back
stc
prabhu insurance

९२ दिनमै विश्वका १४ अग्ला हिमाल आरोहण

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२ औं दिनमा सफल आरोहण गर्दै नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले विश्व कीर्तिमान राखेका छन् ।

काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार यो जोडीले बिहीबार बिहान विश्वकै दोस्रो अग्लो हिमाल केटु आरोहण गरेलगत्तै उक्त रेकर्ड राखेको हो ।

गत वैशाख १३ मा ८ हजार २७ मिटर उचाइको चिनियाँ हिमाल सिसापाङबाट ‘सबैभन्दा छोटो समयको आरोहण यात्रा’ थालेका यी दुईले ९२ औं दिनमा ८ हजार मिटरभन्दा उचाइका विश्वका १४ हिमालको सफल आरोहण गरेका हुन् ।

यसअघि उक्त रेकर्ड निर्मल पुर्जाको नाममा थियो । उनले ६ महिना ६ दिन लगाएर ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गरी २०७७ माघमा बनाएको उक्त रेकर्डलाई शेर्पा र हरिलाको जोडीले ९२ दिनमै उछिनेको हो ।

पुर्जाले पनि कोरियन आरोहीले ७ वर्ष लगाएर पूरा गरेको विश्वकै १४ वटा अग्ला हिमाल आरोहणको रेकर्डलाई तोडेका थिए । ‘निर्मलको रेकर्ड संखुवासभाका तेन्जिङ र नर्वेकी आरोही क्रिस्टिनले तोडेका छन्,’ सेभेन समिटका अध्यक्ष मिग्माले भने, ‘निर्मलले नेपाली नागरिकता त्यागिसकेकाले यो रेकर्ड राख्नेमा तेन्जिङ अब एकमात्र नेपाली छन् ।’

चिनियाँ हिमाल सिसापाङपछि शेर्पा र हरिलाले वैशाख २० मा चीन–नेपालको सीमामा पर्ने चोयु हिमाल (८१८८ मिटर), वैशाख ३० मा मकालु (८४८५ मिटर), जेठ १४ मा कञ्चनजंघा (८५८६ मिटर), जेठ ९ मा सगरमाथा (८८४८.८६ मिटर), ल्होत्से (८५१६ मिटर), जेठ १५ मा धौलागिरि (८१६७ मिटर), जेठ २२ मा अन्नपूर्ण प्रथम (८०९१ मिटर), जेठ २७ मा मनास्लु (८१६३ मिटर), असार ११ मा पाकिस्तानी नागा पर्वत (८१२५ मिटर), असार ३० मा ग्यासरब्रुम दोस्रो (८०३४ मिटर), साउन २ मा ग्यासरब्रुम पहिलो, (८०८० मिटर), ७ साउनमा ब्रोड पिक (८०५१ मिटर) र बिहीबार केटु (८६११ मिटर) को सफल आरोहण गरेका हुन् ।

विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने करिब ४० आरोहीमध्ये थोरै महिलामा ३७ वर्षीया क्रिस्टिन पनि सामेल भएकी छन् ।

आरोहणअघि उनी क्रसकन्ट्री स्कीकी खेलाडी थिइन् । एजेन्सीका अनुसार हिमाल आरोहणमा उनी ८ वर्षयता मात्रै संलग्न भएकी हुन् । तेन्जिङ भने सेभेन समिटका गाइड हुन् । उनीहरूसँगै बिहीबार २१ जनाले केटु हिमाल आरोहण गरेका छन् । जसमा नेपाली फोटोपत्रकार पूर्णिमा श्रेष्ठ पनि छिन् ।