back
stc
prabhu insurance

पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी सुरु

काठमाडौं । स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी सुरु गरिएको छ ।

झन्डै पाँच दशकदेखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले स्थानीय तहले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएको भन्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ पदमार्गको खोजी गरेको हो ।

नयाँ गन्तव्यहरुको खोजी र अनुसन्धान गरी नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्नका लागि टानले पछिल्लो समय देशका विभिन्न स्थानीय तहको सहकार्यमा नयाँ पदमार्गको खोजी गरेको छ ।

टानका अध्यक्ष नीलहरि बाँस्तोलाले पर्वतीय पदयात्राको अत्यधिक सम्भावना रहेको नेपालका पदमार्ग सडक सञ्जालको विस्तारका कारण मासिँदै गएकाले टान नयाँ गन्तव्य तथा पदममार्गको खोजीमा जुटेको बताए ।

टान पछिल्लो समय सडक सञ्जालको विस्तारका कारण छोटिँदै गएको अन्नपूर्ण सर्किट र मनास्लु सर्किटमा पदयात्रीको पदयात्रा अवधि लम्ब्याउनका लागि गोरखाका बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका साथै लमजुङको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकालाई समेटेर ‘बौद्ध हिमाल–हिमाल चुली ग्रेट लेक सर्किट ट्रेल’ को विकासमा जुटेको छ । उक्त पदमार्ग १८ दिनको हुने टानले जनाएको छ ।

टानले रामेछापको उमाकुण्ड गाउँपालिकादेखि सोलुखुम्बुको दूधकुण्ड नगरपालिका हुँदै पासाङ ल्हामु गाउँपालिकालाई जोडेर नयाँ पदमार्ग तयार गरिरहेको छ ।

सुरुको समयमा सगरमाथा उक्त पदमार्ग हुँदै जाने गरेकाले सो पदमार्गलाई टानले विशेष चासोका साथ अगाडि बढाएको हो ।

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि टानले ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ निर्माण गरी विकास गरिरहेको छ ।

यस बाहेक काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा तिमालबाट चौँरीदेउराली हुँदै सैलुङ जोड्ने पदयात्रा मार्गको विकास र प्रवद्र्धन गरिसकेको छ ।

धादिङको गङ्गाजमुना गाउँपालिकाका सातै वडालाई जोड्ने गरी ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को कामलाई समेत टानले अगाडि बढाइसकेको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए ।

टानका अनुसार नेपाल भ्रमणमा आउने पर्यटकमध्ये झन्डै ३० प्रतिशत पर्यटक पदमार्गका लागि विभिन्न स्थानमा जाने गरेका छन् । टानले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको समन्वयमा नयाँ गन्तव्यको पर्यटन प्रवर्द्धनमा समेत काम गरिरहेको छ ।

टानले काठमाडौं उपत्यका वरपरका शिवपुरी, तारेभिर, मूलखर्क चिसापानी, जरसिंहपौवा, ढाव, नगरकोट, साँगा, नमोबुद्ध, फुल्चोकी, गोदावरी, हात्तीवन, फर्पिङ, चित्लाङ, चन्द्रागिरि, रामकोट, नागार्जुन, टोखा, ककनीलगायतका स्थानलाई जोडेर ‘नेपाल मण्डला सर्किट ट्रेल’को विकास गर्ने लक्ष्य लिएको छ ।