back
stc
prabhu insurance

विमलेन्द्र, डा.शशांक र प्रकाशमान तीन राजकुमारकाे छलफल देउवाको विकल्प कि खाेज्दै !

काठमाडौ । नेपाली कांग्रेसको आसन्न १४ ओैं महाधिवेशनमा सभापति पदको दाबेदार रहेका तीन जना नेता उपसभापति विमलेन्द्र निधि,महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह निधि निवासमा भेला भएर छलफल गरेका छन् ।

निधिले आफ्नो वैवाहिक वार्षिकोत्सव (एनिभर्सरी) को सन्दर्भमा ‘लन्च’ का लागि डा.कोइराला र सिंहलाई निम्तो गरेका थिए । निधिको मध्यबानेश्वरस्थित निवासमा आज नेतात्रयबीच पारिवारिक र राजनीतिक छलफल भएको छ ।

निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सभापति शेरबहादुर देउवानिकट रहेका निधिको उम्मेदवारीले देउवालाई अप्ठ्यारो पर्न सक्ने आँकलन गरिएको छ ।

देउवाले प्रदेशगत रूपमा आफूनिकट नेताहरूसँग छलफल गरिरहेका बेला निधिले पनि महाधिवेशन केन्द्रित छलफल थालेका छन् । जारी छलफलमा निधिले आफ्नो उम्मेदवारीबारे अवगत गराउँदै मिलेर जान र डा. काेइराला र सिंहलाई आफ्नाे टिमकाे उपसभापति बनाउने प्रस्ताव समेत गर्दै आफुलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

‘मुख्यतः यो पारिवारिक भेट हो तर नेताहरू भेटेपछि राजनीतिक कुरा भैहाल्छ । महाधिवेशनबारे एक अर्काको कुरा सुन्ने सुनाउने काम भएको छ’, निधिनिकट स्रोतले भन्यो ।

अघिल्लो वर्ष साउनमा पनि निधिले कोइराला र सिंहलाई उनीहरूकै निवासमा पुगेर सहयोगका लागि आग्रह गरेका थिए । आजको लञ्च मिटिङमा पनि तीनैजना नेताले नेतृत्वका लागि आफ्नो दावी पेस गरेका छन् ।

महामन्त्री डा. कोइरालाले १४ औं महाधिवेशनबाट नेतृत्वमा परिवर्तन ल्याउनै पर्ने भएकोले सबै पक्षसँग छलफल आवश्यक रहेकोमा जोड दिएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका सिनियर नेताहरूसँग छलफल गरेर आफू अगाडि बढ्ने समेत बताएका छन् ।

पूर्वमहामन्त्री सिंहले पनि आफू सभापतिको तयारीमा रहेको भन्दै सहयोग गर्न निधि र डा. कोइरालालाई आग्रह गरेका छन्। सिंह र कोइरालाले सभापति देउवाको विकल्पमा जोड दिएका थिए भने निधिले देउवाको सदभाव पनि आफूले जुटाउन सक्ने र पार्टीमा एकताको सन्देश जाने बताएका थिए ।

छलफलमा जुटेका नेतात्रय नै कांग्रेसका संस्थापक नेताहरु विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा हुन् । प्रजातान्त्रिक कांग्रेस हुँदा देउवासँग सिंह र निधि निकट थिए।

देउवाले डा. काेइराला र सिंहलाई उपसभापति र महामन्त्री पदमा मिलाएर टिम बनाउने प्रस्ताव पनि आफू निकट मार्फत पुरयाउदै आएका छन्। देउवाकाे यस्ताे प्रस्ताव निधिले राखेकाे हुन सक्ने चर्चा पनि देउवा पक्षका नेताहरूकाे छ।

निधिले अहिले सभापतिमा दावी गरेर उपसभापतिमा कन्फम हुन चाहेका छन्। प्रकाशमान पनि सभापतिकाे चर्चा चलाएर उपसभापति मै उठदैछन् । तीन नेताहरू वीच पार्टीमा गुटबन्दी हटाउने,पार्टीलाई एकबद्ध बनाउने, क्रियाशिल सदस्यता विवाद मिलाएर जाने,बाढी पिडितकाे राहत र उद्धारमा सरकार असफल भएकाले राहत र उद्धारमा लाग्न सरकारलाई आग्रह गर्ने,काेराेना विरूद्धकाे खाेपकाे व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने लगायतका समसामयिक विषयमा समेत छलफल भएकाे बुझिएकाे छ।