back
stc
prabhu insurance

अबको नारा : ‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’

काठमाडौं । सरकारले मुलुकभित्रै खपत बढाउन फरक–फरक विद्युत उपभोक्ता महसुल लागू गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा वर्षायामको विद्युत खेर जान सक्ने अवस्थालाई मध्यनजर गरि आन्तरिक खपत बढाउने कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने बताइन् ।

प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहेकी भुसालले भनिन् ‘आन्तरिक खपत बढाउन यसलाई मध्यनजर गरी वर्षायाम र सुख्खायामका लागि फरक–फरक विद्युत महशुल निर्धारण गर्ने र धेरै विद्युत खपत गर्ने ग्राहकलाई महशुलमा सुविधा दिने निर्णय भइसकेको छ । साथै, आन्तरिक खपत पश्चात बढी भएको विद्युत छिमेकी देशहरुमा निर्यात गर्ने प्रबन्ध मिलाउन जरुरी छ, ।’

अबको २ वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समय अगावै सम्पन्न गर्न कार्ययोजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिंदै भुसालले ‘बिदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउदै लाने योजनालाई सहयोग गर्न आग्रह गरिन् ।

‘यसबाट ग्यास खरिद बापत विदेशिने पुँजी नेपालमै बस्छ भने अर्कातिर ग्राहकले सस्तोमा विद्युतको उपभोग गर्न पाउँछने । खपत बढ्ने र निकट भविष्यमा खेर जान सक्ने विद्युतको उपयोग हुनेछ ।

प्राधिकरणको आम्दानी समेत बढ्ने छ’, उनले भनिन् । ‘नहर तथा कुलोबाट सिचाइ हुन नसक्ने कृषियोग्य जमिनमा सिचाइ फिडर जडान गर्दै कृषि विद्युतीकरण गर्ने र सिचाइमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने मेरो प्राथमिकता रहेको छ ।’

‘नेपालको पानी जनताको लगानी’ कायक्रम अन्तर्गत जनताको लगानीमा अपर अरुण १०६० मेगावाट, चैनपुर सेती ४१० मेगावाट, तामाकोशी पाँचौ १०० मेगावाटको आयोजनाको निर्माणलाई अघि बढाउने साथै कर्मचारीहरुको लगानीमा अपर मोदी ६० मेगावाटको आयोजनालाइ निर्माणमा लगिने मन्त्री भुसालले बताइन् ।

बुटवल–गोरखपुर, केरुंग (चीन)–रातमाटे जस्ता अन्तरदेशीय र पुर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने ४०० केभीका प्रशारण लाईनहरुको निर्माण गरी उत्पादित विद्युत खेर नजाने साथै छिमेकी देशहरुमा समेत विद्युत व्यापारको ढोका खोल्ने कार्य गर्न जरुरी रहेको उल्लेख गरिन् ।

प्राधिकरणले ग्राहकहरुलाई गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नु पर्ने बताउँदै उनले गुनासोको तत्काल सम्बोधन गर्ने संयन्त्र बनाउने, वितरण संरचनाको स्तरोन्नति एवं विस्तार गर्ने, प्रविधिको प्रयोग गर्दै स्वचालितमा जाने, स्मार्ट मिटर जडान कार्यलाई देशभर विस्तार गर्न कार्यलाई तिब्रताका साथ अघि बढाउनुपर्ने बताइन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई उत्कृष्ट सेवा प्रदान गरिने बताए ।

विद्युत माग र खपत बृद्घिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएको उल्लेख गर्दै घिसिङले यस्ता कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए ।

‘माथिल्लो तामाकोसी जलविद्युत लगायतका आयोजनाहरुबाट उत्पादित विद्युत बिक्रीका लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको छ, उत्पादित विद्युतको स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत अन्तर्देशीय बजारमा बिक्री गर्न आवश्यक प्रबन्ध मिलाइने छ’, उनले भने ।

‘स्वदेशमै विद्युत खपत बृद्धि गर्न सके उत्पादित विद्युतको उपयोग मात्र हुने नभै देशको आर्थिक र सामाजिक विकासमासमेत सकारात्मक प्रभाव पर्छ, त्यसैले विद्युत खपत वृद्धिको पूर्वाधार निर्माण, ग्रामीण विद्युतीकरण, कृषि, सिँचाइका कार्यक्रम सञ्चालन गरिनेछ ।

यस्तै, औद्योगिक वर्गका ग्राहकको महशुलमा पुनरावलोकन, विद्युतीय सवारी साधनको प्रयोग र विद्युतीय चुलोको उपयोग गर्न र तदनुरुप जनचेतना अभिबृद्धि गर्नेसमेतका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।’