बेलायतमा १० वर्षयताकै उच्च मुद्रास्फीति, महँगी र ब्याज दुवै बढ्यो
काठमाडौं । बेलायतमा १० वर्षयताकै उच्च दरमा मुद्रास्फीति बढेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इन्धनको मूल्य बृद्विसँगै ढुवानी खर्च बढ्नुले मुद्रास्फीति बढ्न पुगेको हो।
त्यहाँस्थित सरकारी तथ्यांकका आधारमा उपभोक्ता मुद्रास्फीति दर अक्टोबरमा मात्रै ४।२ प्रतिशतले बढेको छ। यो भनेको सन् २०११ नोभेम्बरपछिकै उच्च वृद्धिदर हो।
यसरी वस्तुको मूल्य तथा मुद्रास्फीति बढ्नुको कारण भनेको विश्वव्यापी कोभिड महामारीबीच इन्धनको मूल्य तथा ढुवानी खर्च बढ्नु नै मुख्य कारण हो भनिन्छ।
योसँगसँगै बेलायत युरोपियन युनियनबाट बाहिरिँदा त्यहाँ कामदार अभाव भएका कारण पनि यस्तो असर परेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
विश्वव्यापी रुपमा अमेरिकी डलरको भाउ वृद्धि र मजबुत भएसँगै पनि पाउन्ड स्ट्रेलिङ कमजोर हुन पुगेको र ब्याजदर बढ्दै गएको कारण मानिएको छ।
डिसेम्बरमा आउने मौद्रिक नीतिमार्फत प्वाइन्ट बेस आधारमा ०.२५ प्रतिशतले बैंक अफ इंग्ल्यान्डले ब्याजदर बढाउने तयारी गरेको छ। ब्याजदर बढ्नेप्रति अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन्। ब्याजदरले वस्तुको मूल्य बढ्दा व्यवसायी र सर्वसाधरणमा उधारोको लागत बढ्नेमा उनीहरुले चिन्ता जाहेर गरेका छन्। –एजेन्सी
वि.सं.२०७८ मंसिर २ १४:२९




















