आज वैशाख ११ गते एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज आइतबार वैशाख ११ गते अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि वैशाख १२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।
यसले वैशाख २१ गते वार्षिक साधारण सभा डाकेको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
यस्तै, निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । सभा, अग्रवाल भवन, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।
वि.सं.२०७९ वैशाख ११ १२:४४



















