back
stc
prabhu insurance

१६औं संस्करणको मिस नेवाः नेपाल ११४२ का प्रतिस्पर्धी नेवार सुन्दरीहरुको प्रतिभा प्रदर्शन

काठमाडौं । १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ का प्रतिस्पर्धी नेवार सुन्दरीहरुले भक्तपुरमा आयोजित एक समारोहबीच आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन्।

मिस नेवाः नेपाल ११४२ अन्र्तगत शनिवार भक्तपुरको सुर्यबिनायकस्थित होटल भादगाउँमा सम्पन्न युएफओ मिस नेवाः नेपाल ट्यालेन्ट शो अन्र्तगत सहभागी नेवार सुन्दरीहरुले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका हुन्।

उनीहरुले मिस ट्यालेन्ट उप उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्रममा नृत्य, वक्तृत्वकला, वासुरी वादन, आँखामा पट्टी बाँधेर धिमे वाजा बादन, गायन, सिलाई बुनाईलगायतका आफ्ना विशेष कला र प्रतिभा प्रदर्शन गरेका आफ्ना अभिभावक तथा निर्णायकको मन जित्ने प्रयास गरेका थिए।

ट्यालेन्ट शोबाट मिस ट्यालेन्ट चयन गरिने र विजेताको नाम अन्तिम प्रतिस्पर्धाको क्राउनिङ सेरोमनीमा घोषणा गरिने मिस नेवाः नेपाल ११४२ को आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्।

नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्यको प्रमूख आतिथ्यता तथा नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न ट्यालेन्ट शोमा नेपाल क्योकुसिन सेइसिन कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ, गायक प्रवेशमान शाक्य, बक्सिङ एसोसिएसनको अध्यक्ष राम अवाले र पूर्व मिस नेवाः एञ्जल श्रेष्ठ निर्णायक रहेका थिए।

मिस नेवाः नेपाल ११४२ को अन्तिम प्रतिस्पर्धा आगामी वैशाख १८ गते आईतवार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। नेवार समुदायका सुन्दरीहरुबीचको यो प्रतिस्पर्धामा विजेता बज्राचार्य, शिला प्रजापति, सलिना महर्जन, लुमन्ती महर्जन, सेलिन प्रजापति, स्नेहा श्रेष्ठ, श्रेया महर्जन, विशेषता मानन्धर, नेहा माली, कृतिका दुवाल, एभ्रील महर्जन, सिर्जुला महर्जन, आस्था श्रेष्ठ, स्वेक्षा महर्जन, अतृषा महर्जन, सिर्जला महर्जन, सविना बज्राचार्य, दीया महर्जन र रेविका महर्जन गरी १९ नेवार सुन्दरीबीच अन्तिम स्पर्धा हुनेछ।

मिस नेवाः नेपालको विजेताले चम्किलो ताजका साथ पुरस्कार स्वरूप एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक हेमा मानन्धरले जानकारी गराएकी छन्। त्यसै गरी फस्ट र सेकेन्ड रनर्सअप विजेताले क्रमशः ५० र २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

अन्तिम स्पर्धाबाट मिस नेवाः नेपाल, फस्ट रनर्सअप र सेकेन्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, बेस्ट नेपाल भाषा, सोसल वेलफेयर एम्बेस्डर चिफ, बेस्ट ड्रेस, मिस फोटोजेनिक, बेस्ट स्माइल, बेस्ट हेयर, मिस पब्लिक च्वाइस, मिस डिसिप्लेन, मिस फ्रेण्डसिप, मिस पर्सनालिटी, मिस चार्मिङ र बेस्ट स्किन गरी कुल १६ विधामा विजेता चयन गरिनेछ।

प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा हुनेछ भने प्रतियोगिहरुलाई पूर्व मिस नेवा: तथा नेकपा  (एमाले) को तर्फबाट काठमाडौं महानगरपालिकाको उप मेयर उम्मेदवार सुनिता डंगोलले नेपाल भाषा लिपीबारे ज्ञान दिएकी छन्।