एनएमबि बैंकको ऊर्जा ऋणपत्रमा आवेदन दिने म्याद थप
काठमाडौं । एनएमबि बैंकले उर्जा ऋणपत्र बिक्री नभएपछि म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर जेठ ४ गतेसम्म पुर्याइएको हो ।
यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ । बैंकले वैशाख २१ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्रको बिक्री खुला गरेको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३५ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ६० प्रतिशत अर्थात् २१ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
१४ लाख इकाई मध्ये ५ प्रतिशत अर्थात् ७० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ भने सर्वसाधारणका लागि खुला गरेको हो । एनएमबिले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत – २०९३÷९४’ जारी गरेको हो । यसमा वार्षिक ४ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ दिएको छ ।
उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
वि.सं.२०७९ वैशाख २५ १२:३१



















