back
prabhu insurance
himalayanlife

नेपाल बैंकको क्रेडिट कार्डबाट १८ महिनासम्म ब्याजबिनै सामान किन्न पाइने

काठमाडौं। नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई क्रेडिट कार्डमार्फत किस्ताबन्दीमा सामान खरिद गर्न सकिने सुविधा ल्याएको छ।

बैंकले स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ‘बाइ नाउ पे लेटर’ (अहिले सामान किन्ने, पछि भुक्तानी गर्ने) सुविधा सञ्चालनमा ल्याएको हो।

बैंकले फिन्टारा सोलुसन्स प्रालिसँगको सहकार्यमा उक्त सुविधा उपलब्ध गराएको हो। यसअन्तर्गत नेपाल बैंकको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले अधिकतम १८ महिनासम्मको किस्ताबन्दीमा विभिन्न सामान खरिद गर्न सक्नेछन्।

बैंकका अनुसार यो सुविधा प्रयोग गरी सामान खरिद गर्दा ग्राहकले कुनै ब्याज वा सेवा शुल्क तिर्नुपर्ने छैन। यसबाट ग्राहकले एकैपटक ठूलो रकम खर्च नगरी सहज रूपमा आवश्यक सामान खरिद गर्न सक्नेछन्।

नेपाल बैंकको प्रधान कार्यालय, न्युरोड काठमाडौंमा २०८३ कात्तिक १६ गते आयोजित कार्यक्रममा उक्त सम्झौतामा बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्टारा सोलुसन्सका कार्यकारी निर्देशक आशिषकुमार शर्माले हस्ताक्षर गरेका थिए।

नेपाल बैंकले कात्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ। यस सुविधाका मुख्य विशेषता पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सीमा, १८ महिनासम्म किस्ताबन्दीमा सामान खरिद गर्न सकिने व्यवस्था तथा शून्य प्रतिशत ब्याज र सेवा शुल्क रहेका छन्।