back
prabhu insurance
himalayanlife

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ बिक्री खुला गरे

काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । वित्तीय संस्था लिमिटेडले आज आज असार १ गतेदेखि  प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो ।

वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको साधारण शेयरमा कूल जारी पुँजी (दुई लाख सात हजार कित्ता) को ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ६२ हजार ६५१ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।

सर्वसाधारणले असार ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नआए असार १५ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइन मार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बी प्लस आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।