हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा
काठमाडौं । काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।
जनस्वास्थ्य सम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ ।
नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिन सक्ने बताइएको छ । जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै कामपाका प्रमुख बालेन्द्र साहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गर्नुभएको छ ।
हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ ।
विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमूलक कार्यक्रम गर्ने कामपा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताउनुभयो ।
“हामीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेका छौँ”, बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाएको जानकारी दिँदै प्रमुख त्रिपाठीले भन्नुभयो ।
त्यस्तै कामपाले पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ ।
वि.सं.२०७९ असार १४ ०६:००




















