back
stc
prabhu insurance

घट्यो पर्यटक आगमन

काठमाडौं । सन् २०२२ लागेपछि निरन्तर बढेको पर्यटक आगमन पछिल्ला महीना भने घटेको देखिएको छ । यो वर्षको अप्रिलमा सर्वाधिक पर्यटक नेपाल आएकोमा मे र जुनमा संख्या घटेको देखिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार गत अप्रिलमा ५८ हजार ३४८ पर्यटक हवाई मार्गबाट यहाँ आएका थिए । त्यसयताको मे र जुनमा क्रमशः ५३ हजार ६०८ र ४६ हजार ९५७ पर्यटक भित्रिएको तथ्यांक छ ।

हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या यो वर्षको ६ महीनामा २ लाख ३७ हजार ६६० पुगेको छ । कोरोना भाइरसको संक्रमण घटेपछि पर्यटक आगमनले सन् २०१९ को प्रवृत्ति पछ्याइरहेको थियो ।

मार्च र अप्रिललाई नेपालमा पर्यटकीय सिजन मान्ने चलन छ । जुनमा भने भारतीय पर्यटक धेरै आउँछन् । मार्च र अप्रिलमा ट्रेकिङ र पर्वतारोहणमा जाने पर्यटक बढी आउने हुँदा यी महीनामा बढी आगमन देखिन्छ ।

पर्यटन व्यवसायी भने मे र जुनको आगमन संख्या पनि नकारात्मक नभएको बताउँछन् । होटेल एशोसिएशन नेपाल ९हान०का वरिष्ठ उपाध्यक्ष विनायक शाहले मे र जुनको आगमनलाई सकारात्मक भएको बताए ।

यी महीनामा भारतीय पर्यटक बढी आउने तर अन्य देशका कम आउने तथा सिजन पनि नभएकाले संख्या कम देखिएको उनको भनाइ छ ।

उनले आउँदो सिजनका लागि ट्राभल कम्पनीहरूले शोधखोज गरिरहेको र कोटेशन माग्न थालेको पनि जानकारी दिए । यद्यपि बढ्दो महँगी र सञ्चालन खर्च उच्च हुँदा कोभिडपूर्वको अवस्थामा जस्तै सस्तोमा सेवासुविधा उपलब्ध गराउन नसकिएको उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकबाट