back
stc
prabhu insurance

राष्ट्र बैंकको कमजोरीका कारण मूल्यवृद्धि भयो : शेखर गोल्छा

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बैंकिङ ब्याजदर वृद्धिका कारण बजारमा मूल्यवृद्धि भएको बताउनुभएको छ ।

आज  काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासङ्घले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनु भएको हो । गोल्छाले राष्ट्र बैंकले बैंकहरूको ब्याजदर नियन्त्रण गर्न नसक्दा अहिलेको अवस्था आएको बताउनुभयो ।

अध्यक्ष गोल्छाले पछिल्लो ६ महिनामा मात्रै बैंकको ब्याजदर दोब्बरले बढ्दा व्यवसायीहरू समस्यामा परेको गुनासो गर्नुभयो । उहाँले अहिले सीमित तरलता रहेको अवस्थामा उत्पादन उद्योगमा लगानी लगाउनु पर्ने अवस्था रहेको बताउनुभयो ।

गोल्छाले भन्नुभयो, ‘अहिलको ब्याजदर बजारको मूल्यवृद्धिलाई धान्न नसक्ने गरी आएको छ । ६ महिनामा ब्याजदर दोब्बर भएर गएको छ । राष्ट्र बैंकले समयमा नै नियन्त्रण गरेको भए अहिलको अवस्था आउने थिएन ।

हामीले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक छ । उत्पादन क्षेत्र नै हाम्रो अर्थतन्त्रको आधार हो । उत्पादन क्षेत्रमा लगानी गर्दा रोजगारी सिर्जना र अर्थतन्त्र चलायमान हुन्छ ।’

महासङ्घका अध्यक्ष गोल्छाले उद्योगहरूले बैंकबाट कर्जा नपाउँदा व्यवसाय ठप्प रहेको भन्दै अहिले सङ्कटको समयमा केन्द्रीय बैंकले सबै समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउँछ भन्ने निजी क्षेत्रले अपेक्षा गरेको बताउनुभयो ।

गोल्छाले बैंकको नाफामा कडाइ गर्नुपर्ने, आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने निर्णय हटाउन माग गर्नुभयो । अध्यक्ष गोल्छाले तरलता अभावका कारण बैंकहरूबाट कर्जा प्रवाह नहुँदा अर्थतन्त्र ठप्प हुने अवस्थामा रहेको बताउनुभयो ।

अध्यक्ष गोल्छाले तरलताको चुनौतीका कारण साना व्यवसायी साँच्चै अप्ठेरोमा रहेको भन्दै व्यवसायीलाई राहत पुग्ने खालको नीति ल्याउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले ५५ लाख शेयर लगानीकर्ताले धेरै गुमाइसकेको भन्दै मौद्रिक नीति मार्फत शेयर कर्जा धितोको ४/१२ सीमा हटाएर शेयर लगानीकर्तालाई राहत पुग्ने नीति लिनुपर्ने बताउनुभयो ।

अध्यक्ष गोल्छाले सरकारले एलसीमा लिएको शतप्रतिशत मार्जिनबाट बैंकहरू मात्र लाभान्वित भएको भन्दै मौद्रिक नीतिमार्फत पुनर्विचार गर्न माग गर्नुभयो ।