साउन २७ देखि ३१ गतेसम्म ‘श्रृजनशील उद्यमी मेला’ आयोजना हुने
काठमाडौँ । महिला श्रृर्जनशील केन्द्रको आयोजनामा ‘श्रृजनशील उद्यमी मेला’आयोजना हुने भएको छ। यहि साउन २७ गतेदेखि ३१ गतेसम्म १९ औँ ‘डाबर वाटिका तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला–२०७९’ आयोजना हुने भएको हो।
उक्त पाँच दिने मेला वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्ला ‘डीइसीसी’ त्रिपुरेश्वर,काठमाडौँमा आयोजना हुन लागेको हो।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा महिला श्रृजनशील केन्द्रकी प्रमुख मिलु थापाले अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायलाई सीप सिकाइ उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलालाई अवसरका रुपमा लिन सकिने बताइन्।
थापाले भनिन्, ‘यस मेलाले महिला दिदी बहिनीलाई आर्थिक रुपमा सबल बनाइ प्रविधिमैत्री वातावरणमा एक सफल उद्यमी बनाउने लक्ष्य लिएको छ।’
उनका अनुसार मेलामा १० वटाभन्दा बढी स्टल असहाय,अशक्त,अपाङ्ग र ग्रामिण क्षेत्रका पिछडिएका महिलालाई निःशुल्क प्रदान गरिएको छ।
आयोजकका अनुसार मेलामा विशेषतः घरेलु तथा हस्तकलाका सामाग्रीहरुको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशीलता र वित्तीय पहुँच सम्बन्धी अन्तर्क्रिया कार्यक्रम,निःशुल्क स्वास्थ्य शिविर, फोटो सुट, मेहेन्दी आर्ट लगायत हात खाली नहुने विशेष उपहारहरु राखिएको छ।
मेलामा काठमाडौँ महानगर, कीर्तिपुर नगरपालिका तथा चन्द्रागिरी नगरपालिकाको सहयोगमा केही स्टलहरु रहने छन्।
विगत दुई वर्ष कोरोना भाइरसका कारण मेला हुन नसकेको र यस वर्ष भने मेलामा १०० भन्दा बढी स्टलहरु हुने जानकारी आयोजकले दिएको छ। मेलामा २५ हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने लक्ष्य राखिएको छ।
वि.सं.२०७९ साउन १७ १८:३७




















