रोजाइमा पर्दै चिसापानीगढी
रामेछाप। देशभर भएका गढी तथा किल्लाभित्र पर्ने एक हो रामेछापको चिसापानीगढी। नेपाल र अङ्ग्रेज युद्धका बेला नेपालका सेनाले यो चिसापानी गढी प्रशिक्षण गर्ने थलोका रूपमा प्रयोग गरेको स्थानीयवासी बताउँछन्।
नेपाल र अङ्ग्रेज युद्धका बेलाको भग्नावशेष र चिनो रहेकाले चिसापानीगढी ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ।
स्थानीयवासीका अनुसार अङ्ग्रेजसँगको युद्धका क्रममा नेपालका सेनालाई चिसापानी गढीमा प्रशिक्षण दिएर युद्ध गर्न सिन्धुलीगढी पठाइएको थियो।
जिल्लाकै ऐतिहासिक र छुट्टै पहिचान अनि महत्त्व बोकेको मन्थली नगरपालिका–८, चिसापानीमा रहेको यो गढी अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ।
बागमती प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेको पैदलमार्ग र सिद्धबाबाको मन्दिरले गढीको झनै आकर्षक थपेको छ। पछिल्लो सयम चिसापानीगाढी घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको स्थानीय भुवनकुमार श्रेष्ठले बताउनुभयो।
यहाँ निर्माण गरिएका आकर्षक सिँढीसहितको पैदलमार्ग, मन्दिर तथा अन्य संरचनाको अवलोकन भ्रमण गर्नेको सङ्ख्या बढ्दो मात्रामा छ, यो गढी संरक्षण र आवश्यक प्रचारप्रसारको अभावले अझै ओझेलमै छ, उहाँले भन्नुभयो।
मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठले नेपाल र अङ्ग्रेज युद्धका भग्नावशेषलगायतका गढीमा रहेको संरचनाको संरक्षणमा स्थानीय सरकार लागिपरेको बताउनुभयो।
चिसापानीगढीमा प्रदेश सरकारको ६० लाख रुपियाँ र वडा कार्यालयको तीन लाख रुपियाँ लगानीमा ४६५ वटा सिँढीसहितको छ सय मिटरभन्दा बढी लम्बाइको पैदलमार्ग र मन्दिर निर्माण गरिएको उहाँको भनाइ छ।
वि.सं.२०७९ साउन २९ ०७:०५



















