back
stc
prabhu insurance

महानगर अन्तर्गतका कर्मचारी तथा शिक्षकलाई पार्टी सदस्यता त्याग्न काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गतका कर्मचारी र शिक्षकहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले विज्ञप्ति नै जारी गर्दै अटेर गर्नेहरुलाई निलम्बन तथा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

सुशासन प्रवर्द्धन गर्न महानगर अन्तर्गतका शिक्षक र कर्मचारीहरू कुनै पनि राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्य हुनु कानुन सम्मत नहुने भन्दै विज्ञप्तिमा महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय सदस्यता नदिन वा दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थालाई पनि आग्रह गरिएको छ ।

दलीय आबद्धता त्याग नगरे सार्वजनिक उजुरी आह्वान गर्ने र उजुरी प्रमाणित भए निलम्बन र कारबाही हुनसक्ने चेतावनी पनि दिइएको छ ।

उच्च अदालत पाटनबाट गत जेठ ४ मा परमादेश जारी भएपछि महानगरपालिकाले यस्तो आदेश जारी गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ ।