सूर्यविनायक–धुलिखेल सडकः काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने
काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रिया अन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तारको काम सकिने भएको छ ।
यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको छ ।
आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो ।
सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै गर्ने गरी हाललाई साँगाबाट धुलिखेलसम्मका लागि रु चार अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरिएको छ ।
यसअघि जापान सहयोग नियोग (जाइका) ले आयोजनाबाट हात झिकेपछि सडक विभाग आन्तरिक स्रोतबाटै निर्माण अघि बढाउने तयारीमा लागेको थियो । डिपिआरअनुसार छ लेनमा सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न रु नौ अर्ब लागत लाग्ने छ ।
प्रतिवेदन अनुसार साँगामा डेढदेखि दुई किलोमिटर सडक विस्तारमा समस्या देखिकाले हाललाई सूर्यविनाक–धुलिखेल सडक विस्तार अन्तर्गत काभ्रेपलाञ्चोक खण्ड साँगादेखि धुलिखेलसम्मको सडक विस्तारका लागि ठेक्का आह्वान गरिएको आयोजनाको सिनियर डिभिजन इञ्जीनियर शम्भुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोक खण्ड साँगाबाट धुलिखेलसम्म करिब १० किलोमिटरको दूरी हो । उक्त खण्डको अनुमानित लागत रु चार अर्ब ८९ करोड रहेको आचार्यले बताउनुभयो ।
आचार्यका अनुसार ठेक्का पाउने निर्माण व्यवसायीले तीन वर्षभित्र निर्माण पूरा गर्नुपर्ने तथा निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतसमेतको जिम्मा लिनुपर्ने छ । भदौमा प्रक्रिया सकेर आउँदो असोजमा सम्झौता हुने जनाइएको छ ।
डिपिआरमा गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने छ भने बीचमा तीन मिटरको मेडियन निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख छ ।
आचार्यका अनुसार आगामी कात्तिकबाट काम सुरु गर्न सकिन्छ । यस आयोजनाअन्तर्गत भक्तपुर खण्डअन्तर्गत साँगाबाट सुर्यविनायकसम्म छुट्टै बोलपत्र आह्वान गरिनेछ ।
आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि यही साउन पहिलोसाता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
सडक विभागले केही वर्षदेखि धुलिखेलबाट बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने, नभए सरकार आफैँले निर्माण गर्ने जनाउँदै आइएको थियो ।
उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जाइकाले नगर्ने बताइसकेको छ । “बोलपत्र आह्वान भएको छ अब जाइकाले चासो दिएमात्रै हो, उसले सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम नगर्ने बताइसकेको छ”, आचार्यले भन्नुभयो ।
उक्त सडक आयोजना करिब १६ किलोमिटर दूरीको हो । अध्ययनअनुसार उक्त दूरीमा छ स्थानमा आकाशे पुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण हुने छ ।
भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित एक दशमलव २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारे छलफलसमेत भइरहेको जनाइएको छ ।
“सुरुङमार्ग निर्माण गर्दा निकै खर्चिलो हुने भएकाले लगभग नबन्ने देखिएको छ”, डिभिजन इञ्जीनियर आचार्यले भन्नुभयो ।
जाइकाले नै सूर्यविनायक–धुलिखेल सडक विस्तारबारे सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेश गर्दै सरकारको बजेटमा डिजाइनअनुसारको काम गर्न नसक्ने जनाएको हो ।
सरकारले आव २०७७(७८ मा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार सुरु गर्न रु एक अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवको बजेटमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई ब्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो ।
डिभिजन सडक कार्यालय भक्तपुरले विसं २०७६ मा सडक निर्माणस्थल खाली गराउन रुख कटानलगायतको काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो ।
सङ्घीय राजधानीबाट बागमती प्रदेश अन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्दछन् ।
उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लाका विभिन्न ठाउँमा आवतजावतका लागि समेत यो सडक प्रयोग हुन्छ ।
वि.सं.२०७९ भदौ १५ ०७:५८




















