नयाँदिल्लीमा हुने हस्तकलाको नवौं एक्जिम बजार प्रदर्शनीमा नेपाल हस्तकला महासंघ सहभागि हुने
काठमाडौं । नेपाल हस्तकला महासंघले यही सन् २०२२ को सेप्टेम्बर ३ देखि ६ तारिखसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नवौं संस्करणको एक्जिम बजार २०२२ प्रदर्शनीमा सहभागिता जनाउने निर्णय गरेको छ ।
सो प्रदर्शनीमा परम्परागत, समकालिन हस्त शिल्पकला, हस्तकला लगायत विभिन्न कला उत्पादनमा संलग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीहरुलाई प्रदर्शनी एवं बिक्री कार्यक्रमको माध्यमबाट बस्तु एवं बजार प्रबर्द्वनमा सहयोग पुरयाउने उद्देश्यले सो एक्जिम बजार प्रदर्शनी भारतको विभिन्न शहरहरुमा आयोजना हुँदै आईरहेको छ ।
यस पटक भारतको डण्डिया एक्जिम बैंकको आयोजनामा नेशनल क्राफ्ट म्यूजियम एण्ड हस्तकला एकेडेमी , नयाँ दिल्लीमा हुन लागेको सो प्रदर्शनीमा नेपाल हस्तकला महासंघद्वारा मैन मुर्ति कलाकार मनोज शाक्य, Repousse र फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्र बहादुर शिल्पकार, रेशाजन्य बस्तु विधाका कलाकार तथा उद्यमी रमेश श्रेष्ठ र धातुमुर्ति कलाकार उदिप शाक्य गरी जम्मा ५ जना महासंघका सदस्यहरुले प्रतिनिधित्व गर्ने निर्णय भएको महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले बताएका छन ।
हस्तकला विधामा संलग्न उद्यमी, कलाकार, कालिगढहरुको सीप, दक्षता तथा कार्यकुशलता अभिबृद्धिका साथै एक अर्काको सीप, प्रविधि अनुभव आदान प्रदन गरी व्यवसाय प्रवर्द्वनका लागि महासंघबाट समय सापेक्ष पहल एवं आवश्यक क्रियाकलाप संचालन हुँदै आएको छ ।
यस प्रदर्शनीको माध्यमबाट सहभागी कलाकारहरुमा भारतको बजारमा आफ्ना कलाकृति, उत्पादनहरुको प्रदर्शनी गरी व्यवसाय प्रवर्द्वन गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा महासंघले गरेको जनाएको छ । यस किसिमका प्रदर्शनीलाई निरन्तरता दिनु पर्ने पनि महासंघको धारणा रहेको बताइएको छ ।
वि.सं.२०७९ भदौ १६ ०६:१०




















