उपत्यकामा सम्पदा यात्रा हुने
काठमाडौं । काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन गर्ने विषयमा छलफल शुरु भएको छ ।
पर्यटन व्यवसायी र स्थानीय बासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय संचालनको तयारी पुरा गरी रात्रीकालिन सम्पदायात्रा संचालन गरिने छलफल भएको छ ।
ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुङ्गेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने ठानिएको छ ।
काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा सुरु गर्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गत भदौ १५ गते सरोकारवालाहरुसँग छलफल समेत गरेका छन।
छलफलमा उपत्यकाका स्थानीयतहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय संघ(संस्थाका प्रतिनिधि सहभागि भएका थिए ।
छलफलमा मन्त्री श्रेष्ठले रात्रीकालिन सम्पदायात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्विने विश्वास व्यक्त गरेका छन।
रात्रीकालिन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्वत पुग्ने मन्त्रीले बताएका छन।
रात्रीकालिन सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुर्नजीवन पाउने विश्वास व्यक्त गरिएको छ ।
दिवाकालीन मात्रै होइन, रात्रिकालीन पर्यटन विकास गर्न तथा सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउन रात्रीकालिन सम्पदायात्रा संचालन गर्न लागिएको छ ।
रात्रीकालिन सम्पदायात्राले स्थानीयबासिन्दाको आर्थिक समृद्धिमा सहयोग पुन्नेछ । रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्न सम्पदा क्षेत्रहरू उपयुक्त रहेको मन्त्री श्रेष्ठले बताएका छन ।
मन्त्री श्रेष्ठले आफ्नो पर्यटन पुनर्उत्थान कार्ययोजनामा पनि उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन गर्ने उल्लेख गरेका छन । यसमा पर्यटन व्यवसायी,सांस्कृतिक विद् र स्थानीय बासिन्दाले सहयोग गर्ने भएका छन।
वि.सं.२०७९ भदौ १६ १७:१०




















