भारतीय सेनाध्यक्ष पाण्डे भोली पाँच दिने भ्रमणमा नेपाल आउने
काठमाडौं । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने भ्रमणका लागि २०७९ भदौ १९ गते आइतबार काठमाडौं आउँदै छन ।
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी काठमाडौं आउन लागेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने छिन ।
राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन । त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिने भएको छ ।
नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ ।
विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्शल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो भने वि.सं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखद्वारा विभूषित भएका थिए ।
अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेको थियो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन।
नेपाल र भारतबीचको विशिष्ट एवं बहुआयामिक सम्वन्धको परिप्रेक्ष्यमा दुबै देशका सेनाबीच आपसी सहअस्तित्व र समानतामा आधारित प्रचलनले समग्रमा नेपालको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा प्रवर्द्धन तथा सामरिक प्रतिरक्षामा समेत योगदान पुग्ने भएको छ।
मानार्थ महारथीबाट सुशोभन गर्ने परम्पराले दुई देशबीच सद्भाव र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ तुल्याउन योगदान पुरयाउदै आएको छ ।
नेपाल र भारत दुबै मुलुकले यस्तो सुशोभन कार्यक्रम राष्ट्रपति भवनमै आयोजना गर्ने परम्पराले सहअस्तित्व र समानताका आधारलाई पुष्ट्याइ गरेको छ ।
२०७२ असोज ६ गतेपछि भारतले नेपाल माथि गरेको अघोषित नाकाबन्दी खुलाउन सैनिक कूटनीति मार्फत दुबै देशका सेनाको पहलमा ‘ब्रेक थ्रु’ भएको थियो ।
प्राकृतिक प्रकोप र भूकम्पका समयमा भारतीय सेनाबाट सक्रियाताका साथ खोज, उद्धार र राहतमा सहयोग प्राप्त हुँदै आएको छ ।
नेपाली र भारतीय सेनाबीच सहकार्यका सिलसिलामा विगतदेखि नै एक–अर्का देशमा विभिन्न सेमिनार, तालिम र अभ्यास चल्दैआएको छ ।
नेपाली सेनाले भारतमा सञ्चालन भएका विभिन्न तालिममा सन् १९८९ देखि हालसम्म दुई हजार चार सय १७ अधिकृत र एक हजार तीन सय ७८ अन्य दर्जाको सहभागिता जनाइ सकेको छ ।
नेपाल( भारत दुबै देशका सेनाबीच सुमधुर, सद्भावपूर्ण, सुदृढ र प्रगाढ सम्बन्ध रहि आएको छ । सेनाको तालिम र अभ्यासका आधारमा सोच विचार र ‘ग्रुमिङ’को तरिका एकै खालको छ, सेनाको प्रशंसनीय र उत्कृष्ट काम, लगन र प्रतिबद्धताले एक–अर्का देशका सेनापतिलाई मानार्थ सम्मान प्रदान गर्ने अद्भूत प्रचलन रही आएको छ ।
भारतीय सेनामा करिव ३५ हजारको संख्यामा नेपाली युवा कार्यरत रहनुले पनि दुई देशबीचको सम्बन्धलाई सरकार र जनस्तरमा समेत सुमधुर तुल्याउन विशिष्ट योगदान पुरयाएको छ ।
भारतीय सेनाले सन् २०१० देखि हालसम्म नेपाली सेनालाई करिब छ अर्ब भारतीय रुपियाँ मूल्य बराबरको हातहतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, हेलिकप्टर, मोटर र मेडिकल उपकरजस्ता सैनिक सामग्री केही सहयोग र केही ठूलो सहुलियत दरमा सामग्री उपलब्ध गराउँदै आएको छ ।
कोरोना सङ्क्रमणले आक्रान्त तुल्याएको समयमा भारतीय सेनाले आइसियु भेन्टिलेटर र अस्पतालका लागि आवश्यक मेडिकल सामग्री पनि सहयोग गरेको थियो ।
सन् २००३ पछि गठन भएको सुरक्षा मामिलासम्बन्धी नेपाल–भारत परामर्श समूहको बैठकमा भएका सहमतिअनुरुप भारतीयले ती सामग्री नेपाललाई उपलब्ध गराएको थियो ।
उक्त बैठकको सुरुआत हुन अघि पनि भारतीय सेनाले हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, हवाई साधन, सवारी साधन, हलेमेट, बुलेटप्रुफ ज्याकेट तथा अन्य सैनिक सामग्रीसमेत उपलब्ध गराएको थियो ।
भौगोलिक बनावट, खुला सिमाना, सामाजिक एवं सांस्कृतिक समानताका कारण नेपाल र भारतबीच जनस्तरसम्म विशेषखाले प्रगाढ सम्बन्ध रहेको देखिन्छ ।
यस्तो अनुपम र विशिष्ट सम्बन्ध अरु कतै छैन, भए पनि कम छ, भारतीय र नेपाली सेनाबीच आपसी समन्वय र संयुक्त तालिमरअभ्यास हुँदैआएको छ । भारतीय सैनिकहरु खासगरी जङ्गल र माउण्टेन वारफेर तथा स्टाफ कलेजको तालिममा आउँछन् ।
प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले भेट गर्ने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण, सम्मान गारत निरीक्षण, प्रधानसेनापति शर्मासँग भेटवार्ता, सहयोग सामग्रीे हस्तान्तरण, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तक्र्रियालगायतका कार्यक्रमा सहभागी जनाउने छन ।
सेनाध्यक्ष पाण्डेको भ्रमणका क्रममा करिब रु। २२ करोड ३८ लाख ३८ हजार मूल्य बराबरको तोप मर्मतसम्भारका पार्टपुर्जा, घोडा, सिमुलेटर, विस्फोटक पदार्थ प्रतिरोध सवारी साधन र घुम्ती अस्पतालका लागि आवश्यक उपकरणको सहयोग उपलब्ध गराउने भएको छ ।
वि.सं.२०७९ भदौ १८ ११:०५


















